चीन –भारतबीच नेपालको “भूमि” लिपुलेक हुँदै सीमा व्यापार पुनः सुरु गर्ने सहमति

 

काठमाडौं, ४ भदौ । चीन र भारतबीच लिपुलेक पास हुँदै सीमा व्यापार पुनः सुरु गर्ने सहमति भएको छ। नयाँ दिल्लीमा मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच सम्पन्न उच्चस्तरीय भेटवार्तामा यस्तो सहमति बनेको हो।

दुई दिने भारत भ्रमणका क्रममा वाङ यी र जयशंकरबीच भएको वार्तापछि सार्वजनिक गरिएको १२ बुँदे सहमतिको ९ औं बुँदामा लिपुलेक, शिप्कीला र नाथु ला पासमार्फत सीमानापार व्यापार पुनः सुरु गर्ने विषय उल्लेख गरिएको छ।

यो सहमति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको उच्च ट्यारिफपछि उत्पन्न परिस्थितिका बीच आएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार गलवान उपत्यकामा भएको तनावपछि चीन–भारतबीच दोस्रो पटक यस्तो उच्चस्तरीय भेटवार्ता भएको हो।

यसअघि सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा पनि लिपुलेक पासमार्फत व्यापार गर्ने सहमति भएको थियो। तर, नेपाललाई जानकारी नदिई भएको उक्त सहमतिप्रति काठमाडौंमा तीव्र विरोध भएको थियो।

विशेषज्ञहरूले लिपुलेकलाई व्यापारिक नाका बनाउन चीन र भारतबीच भएको यो पछिल्लो सहमति नेपालका लागि पुनः सार्वभौमिकता र सीमा प्रश्नको संवेदनशील विषय बन्न सक्ने चेतावनी दिएका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation