बुटवल । रुपन्देहीमा प्रहरीले करिब १ करोड ७१ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामानसहित एक व्यक्ति पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुधबार साँझ लुम्बिनी साँस्कृतिक नगरपालिका–१०, महिलवार क्षेत्रमा इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी बिट महिलवारबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा लु २ च ६३०३ नम्बरको पिकअप जिप नियन्त्रणमा लिएको हो।
उक्त जिपमा भन्सार छलिएका सामग्री बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका चालक मायादेवी गाउँपालिका–४ का ३० वर्षीय नारायण अग्रहरीलाई समेत नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार बरामद सामग्रीमा विभिन्न कम्पनीका २७ कार्टुन फ्लेवर, १,५८० थान ग्रयाप आईस इलेक्ट्रिक भेप, विभिन्न कम्पनीका ४,३८१ थान इलेक्ट्रिक भेप, १ थान इलेक्ट्रिक मिक्सर, १ थान प्लास्टिक प्याक गर्ने मेशिन र १५ किलो र्यापिङ प्लास्टिक रहेका छन्।
बरामद सामग्रीको मूल्य करिब १ करोड ७१ लाख २५ हजार रुपैयाँ पर्ने प्रहरीको भनाइ छ। हाल पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।











