विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन, एमाले नेताहरूको बाक्लो उपस्थिति

 

काठमाडौँ । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले बिहीबार नयाँ बानेश्वरको थापागाउँस्थित लाखेचौर मार्गमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरेकी छन्।

उक्त कार्यक्रममा एमालेका १९ पदाधिकारीमध्ये ३ उपाध्यक्षको उपस्थिति रहेको थियो। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्दै जनताको बहुदलीय जनवाद (जबज) र पार्टी लोकतान्त्रिकरणको विषय उठाए। त्यस्तै, उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे अतिथिका रूपमा सहभागी भए। उनीहरूको मौन उपस्थितिलाई राजनीतिक विश्लेषकहरूले विद्याप्रतिको समर्थनको संकेतका रूपमा लिएका छन्।

डोरमणि पौडेल, पुण्य ढकाल, विकास लम्साल, कर्ण थापा लगायतका एमाले नेताहरू पनि कार्यक्रममा सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले ठूला दलहरूको कार्यशैलीप्रति असन्तोष जनाउँदै भनिन्–
“पार्टीहरूले जनचाहनाअनुसार काम गर्न सकेका छैनन्। जबजलाई एमालेले मार्गदर्शन सिद्धान्तका रूपमा लिएको भए पनि यसको मर्म र भावना अनुसार काम भएको छ कि छैन भन्ने समीक्षा आवश्यक छ।”

भण्डारीले आफ्नो संगठित सदस्यतामाथि प्रश्न उठाइएकोप्रति असन्तोष व्यक्त गर्दै माले कालदेखि नै सदस्य रहेको स्मरण गराइन्। उनले भनिन्, “म आलोचनाभन्दा बाहिर छैन, तर तथ्यमा आधारित हुनुपर्छ।”

अन्त्यमा उनले आफू अझै पनि एमालेकै कार्यकर्ता भएर काम गर्ने अडान व्यक्त गर्दै जबजको मर्मप्रति प्रतिबद्धता दोहोराइन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation