मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आव्हान :
६ भाद्र २०८२, शुक्रबार
नयाँ दिल्ली ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सम्पूर्ण देशभक्त शक्तिहरूसँग राष्ट्रियताको रक्षाको लागि एकजुट भई सङ्घर्षमा उत्रिन आह्वान गरेको छ।
अगस्त २२, २०२५ का दिन समाजका केन्द्रीय अध्यक्ष प्रेम पौडेलले जारी गरेको वक्तव्यमा कालापानीमा भएको भारतीय सेनाको उपस्थितिलाई फिर्ता गराउन नेपाल सरकारले विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिइएको छ। साथै चीन–भारतबीच भएको लिपुलेकसम्बन्धी सहमतिलाई अविलम्ब खारेज गर्न र नेपालको सार्वभौमसत्ता तथा अखण्डतालाई सम्मान गर्न चीनलाई आग्रह गरिएको छ।
वक्तव्यमा भनिएको छ–
१. कालापानी नेपालको अविभाज्य भूभाग भएको तर लामो समयदेखि भारतले सैन्य कब्जा जमाएको उल्लेख गर्दै, भारतले आफ्नो प्रभुत्व वैधानिक बनाउन चीनलाई साथ लिन खोजेको आरोप लगाइएको छ। चीनले पनि आफ्नो स्वार्थका कारण कालापानीमाथि भारतीय प्रभुत्वलाई वैधानिकता दिने गतिविधि गरिरहेको उल्लेख छ।
२. चीन र भारतबीच भएको लिपुलेक व्यापार नाका सम्बन्धी सहमति नेपालको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउने साम्राज्यवादी चरित्रको उदाहरण भएको भन्दै तत्काल खारेज गर्न माग गरिएको छ। नेपाल सरकारलाई कालापानीको विषय अन्तर्राष्ट्रियकरण गर्न जोड दिइएको छ।
३. समाजले आफ्नो स्थापना कालदेखि नै जनतन्त्र, जनजीविका र राष्ट्रियताको रक्षाको लागि संघर्षमय इतिहास रहेको बताउँदै सम्पूर्ण देशभक्त शक्तिहरूलाई राष्ट्रियताको संरक्षणका लागि एकजुट भई सङ्घर्षमा उत्रिन आह्वान गरेको छ।
यसरी, भारतस्थित नेपालीहरूको प्रतिनिधि सामाजिक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले कालापानी मुद्दा र लिपुलेक सम्झौता खारेजीलाई प्रमुख एजेन्डा बनाएर अन्तर्राष्ट्रिय चासो बढाउन माग गरेको छ।











