शंकर प्रसाद पोख्रेल
बुटवल, भदौ ६ ।
भारत–चीनबीच लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने सम्झौताविरुद्ध रुपन्देहीका वामपन्थी दलहरूले संयुक्त रूपमा कडा आपत्ति प्रकट गरेका छन्।
२०७५ सालमा भारतले प्रकाशित गरेको नयाँ नक्साबाट सुरु भएको अतिक्रमणको प्रक्रियालाई निरन्तरता दिँदै हालै भारत–चीनबीच भएको लिपुलेक–कालापानी व्यापार सम्झौता नेपाल विरोधी र अस्वीकार्य भएको भन्दै दलहरूले संयुक्त विज्ञप्ति जारी गरेका हुन्।
संयुक्त बैठकले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियतामा हस्तक्षेप भएको भन्दै तत्काल सम्झौता खारेज गर्न सरकारसँग माग गरेको छ। साथै, नेपाल सरकारले दृढतापूर्वक राष्ट्रियताको पक्षमा कदम चाल्नुपर्नेमा जोड दिइएको छ।
संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने दल र नेताहरू :
राष्ट्रिय जनमोर्चा जिल्ला समिति, रुपन्देही – अध्यक्ष टान बहादुर के सी।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति, रुपन्देही – सचिव लक्ष्मीकान्त पौडेल
नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति, रुपन्देही – सचिव बिरेन्द्र सि.
नेकपा (माओवादी केन्द्र) जिल्ला समिति, रुपन्देही – संयोजक निर्मल जि.सी.
नेकपा एस जिल्ला समिति, रुपन्देही – प्रतिनिधि चिन बहादुर गुरुङ
विज्ञप्तिमा भनिएको छ, “लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको अभिन्न भूभाग हो। त्यस क्षेत्रमा भारत–चीनले गरेको कुनैपनि सम्झौता नेपालको सार्वभौमसत्ता माथि हस्तक्षेप हो र नेपाली जनताले त्यसलाई कहिल्यै स्वीकार गर्ने छैनन्।”
दलहरूले संयुक्त रूपमा आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिँदै नेपालको सीमा अतिक्रमणको विरुद्धमा सबै देशभक्त शक्तिलाई एकजुट हुन आह्वान गरेका छन्।











