लिम्पियाधुरा–लिपुलेक नेपालको अविभाज्य भूभाग : सांसद पन्थी

 

बुटवल ,
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले लिम्पियाधुरा–लिपुलेक क्षेत्रलाई नेपालको लागि ऐतिहासिक, धार्मिक तथा रणनीतिक दृष्टिले अतिसंवेदनशील भूभागको रूपमा औंल्याएका छन्।

सामाजिक सञ्जालमार्फत भारतको एकपक्षीय दाबीप्रति कडा आपत्ति जनाउँदै उनले भने, “लिम्पियाधुरा–लिपुलेक केवल भारत–चीन व्यापारिक नाका मात्र होइन, कैलाश–मानसरोवर जाने महत्वपूर्ण तीर्थमार्ग समेत हो, त्यसैले यसको महत्व अझ बढ्छ।”

उनका अनुसार ब्रिटेन र भारतका पुराना नक्सा, महाकाली नदीको मुख्य धारा लगायतका ऐतिहासिक प्रमाणहरूले यो भूभाग नेपालको अविभाज्य हिस्सा भएको स्पष्ट देखाउँछन्। भारतले दुर्गमता र दूरीको बहानामा मिचाहा दाबी गर्दै आएको आरोप लगाउँदै उनले यसबारे नेपालले दृढ र स्पष्ट कदम चाल्नुपर्ने बताए।

समाधानका उपायबारे कुरा गर्दै पन्थीले कूटनीतिक पहललाई पहिलो विकल्प मान्नुपर्नेमा जोड दिए। तर, आवश्यक परे सट्टापट्टा वा लिजमार्फत समाधान खोज्न सकिने सुझाव पनि राखे।

सांसद पन्थीले ऐतिहासिक प्रमाण, धार्मिक महत्व र रणनीतिक संवेदनशीलता तीनै पक्षलाई जोडेर लिम्पियाधुरा–लिपुलेक नेपालको हिस्सा भएको दाबी गरेका छन्। साथै, उनले समाधानका लागि व्यवहारिक विकल्पहरू सुझाएर विवादलाई शान्तिपूर्ण तरिकाले टुंग्याउनुपर्ने धारणा प्रकट गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation