तिलोत्तमा नगरपालिका फेरि उत्कृष्ट : लुम्बिनीमा पहिलो, देशभर दोस्रो

शंकर प्रसाद पोख्रेल

रुपन्देही, भदौ ७ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका लगातार दोस्रो पटक उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा नगरपालिकाले १०० मध्ये ९७.२५ प्रतिशत अंक प्राप्त गर्दै लुम्बिनी प्रदेशमा पहिलो र देशभर दोस्रो स्थान हासिल गरेको हो।

अघिल्लो आर्थिक वर्ष  मा पनि उत्कृष्ट घोषित भएको तिलोत्तमाले यसपटक पनि आफ्नो निरन्तरता कायम राखेको छ।
नगरपालिकाले समयमै बजेट तर्जुमा, कार्यान्वयन र मूल्याङ्कन, दीर्घकालीन योजनासँग मेल खाने प्राथमिकता आयोजना छनोट, आन्तरिक स्रोत परिचालन, फोहोरमैला व्यवस्थापन, हेलो तिलोत्तमा कार्यक्रम, नि:शुल्क एक्स–रे र औषधि सेवा, दिवाखाजा जस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिएको छ।

नगर प्रमुख रामकृष्ण खाँणका अनुसार “एक वडा–एक किलोमिटर सडक योजना, आईटी पार्क, मेड इन तिलोत्तमा, जोखिम संवेदनशील भूउपयोग योजना जस्ता कार्यक्रमले नगरलाई संस्थागत रूपमा सबल बनाएको” हो।

स्थानीय र अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्य, पारदर्शी प्रशासन, बेरुजु नियन्त्रण, समयमै सार्वजनिक सुनुवाइ र समीक्षा, र अन्तर्राष्ट्रिय पुरस्कार तथा सदस्यताले पनि तिलोत्तमालाई निरन्तर उत्कृष्ट बनाउन योगदान गरेको जनाइएको छ।

तिलोत्तमा  लुम्बिनीमै पहिलो र देशभर दोस्रो भएर विकास र सुशासनमा निरन्तर उत्कृष्ट बनेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation