काठमाडौँ, भदौ ७ ।
भारत र चीनबीच लिपुलेक हुँदै व्यापारिक नाका खोल्ने सम्झौताको विरोधमा आज काठमाडौँस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूले “गो ब्याक इन्डिया–चाइना”, “लिपुलेक–कालापानी–लिम्पियाधुरा नेपालको हो” जस्ता नाराबाजी गर्दै नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डता माथि अतिक्रमण प्रयास स्वीकार्य नहुने चेतावनी दिएका छन्।
विभिन्न विद्यार्थी संगठन, नागरिक समाजका प्रतिनिधि तथा राजनीतिक दलका कार्यकर्ताहरूको उपस्थितिमा भएको प्रदर्शनमा वक्ताहरूले भारत र चीन दुवैले नेपाली भूमिमा हस्तक्षेप गर्न नपाउने स्पष्ट सन्देश दिन सरकारसँग माग गरेका थिए। उनीहरूले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको ऐतिहासिक र कानूनीरूपमा मान्य भूभाग भएको पुनः स्मरण गराउँदै भारत–चीन व्यापारिक सम्झौता तत्काल खारेज गर्नुपर्नेमा जोड दिएका छन्।
सुरक्षाकर्मीको कडा निगरानीबीच भएको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ।











