लिपुलेक व्यापार नाका विरुद्ध पोखरामा विरोध प्रदर्शन

शंकर प्रसाद पोख्रेल

पोखरा, भदौ ७।
भारत–चीनबीच लिपुलेकलाई व्यापारिक नाका बनाउने सम्झौताको विरोधमा पोखरामा विभिन्न वामपन्थी दल र बुद्धिजीवीहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन्।

“राष्ट्रिय स्वाधीनताको रक्षा गरौं” भन्ने नारासहित आयोजित विरोध कार्यक्रममा सहभागीहरूले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न अंग भएको पुनः स्मरण गराउँदै भारत र चीनको आन्तरिक हस्तक्षेपकारी कदमको कडा विरोध जनाए।

विरोध कार्यक्रमका संचालक रबिमोहन ढकाल थिए। कार्यक्रममा नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव उमेश सी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य नारायण अधिकारी, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) कास्की नगर अध्यक्ष विशाल तिमिल्सिना, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य शंकर बराल, तथा वाम बुद्धिजीवी वरिष्ठ अधिवक्ता तिलक पराजुलीले मन्तव्य राख्दै राष्ट्रिय स्वाधीनताको मुद्दामा एकजुट भई संघर्ष गर्नुपर्नेमा जोड दिए।

उक्त विरोध कार्यक्रममा विभिन्न वामपन्थी दलका कार्यकर्ता तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकहरूले जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation