भैरहवामा लिपुलेक व्यापार सम्झौताविरुद्ध वामपन्थी दलहरूको विरोधसभा

शंकर प्रसाद पोख्रेल ,

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइयो

भैरहवा, भदौ ८।
भारत–चीनबीच लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने सम्झौताविरुद्ध रुपन्देहीको भैरहवामा वामपन्थी दलहरूले विरोधसभा गरेका छन् । सभामा सहभागी नेताहरूले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न अङ्ग भएको दोहोर्याउँदै भारत–चीन सम्झौता नेपालको सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप भएको दाबी गरे ।

विरोधसभामा नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य हकिक कुल्लाह खाँ, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलम, क्रान्तिकारी कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी, नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य वसन्त सी, नेकपा (एकीकृत समाजवादी) का प्रदेश उपाध्यक्ष रमेस भण्डारी लगायत नेताहरूले आ–आफ्ना धारणा राख्दै सम्झौतालाई अस्वीकार गर्ने स्पष्ट अडान प्रकट गरे ।

वक्ताहरूले लिपुलेक व्यापार सम्झौता नेपालमाथि गरिएको “आर्थिक, भौगोलिक र राजनीतिक अतिक्रमण” भएको भन्दै यसलाई खारेज गर्न सरकारले कूटनीतिक पहलमार्फत कदम चाल्नुपर्नेमा जोड दिए । साथै, देशभक्त शक्तिहरूलाई एकजुट भई राष्ट्रियता र भू–अखण्डता रक्षामा जुट्न आह्वानसमेत गरे ।

यसै क्रममा वामपन्थी दलहरूले प्रमुख जिल्ला अधिकारीलाई विरोधस्वरूप ज्ञापनपत्र समेत बुझाएका छन् ।

कार्यक्रमको सञ्चालन नेकपा (मसाल )का रुपन्देही जिल्ला प्रबक्ता लालचन्द पन्थले गरेका थिय।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation