८ भाद्र २०८२, आइतबार
भालुवाङ ।
दाङको देउखुरीस्थित गढवा गाउँपालिका–१ धोद्रेमा आइतबार बिहान मोटरसाइकल र टिप्पर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डवल बहादुर बमका अनुसार दुर्घटनामा परेर प्युठानको ऐरावती गाउँपालिका–५ निवासी १९ वर्षीय सुशील थापाको मृत्यु भएको हो। थापाको भालुवाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ।
त्यसैगरी मोटरसाइकल चालक सोही गाउँपालिका–५ निवासी २२ वर्षीय प्रचण्ड थापा घाइते भएका छन्। उनलाई भालुवाङ अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको प्रहरी निरीक्षक बमले जानकारी दिएका छन्।
दुर्घटना आइतबार बिहान करिब ६ बजे धोद्रे पुल नजिक भएको हो। चन्द्रौटातर्फ जाँदै गरेको ना ८ ख ८२५९ नम्बरको टिप्पर र विपरीत दिशाबाट आउँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ। यता, दुर्घटनामा संलग्न टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाएको छ।











