बुटवल, ८ भदौ – रुपन्देहीमा क्रियाशील पत्रकारहरुले आइतबार तिजको अवसरमा मनोञ्जनात्मक मिलन कार्यक्रम आयोजना गरे। व्यस्त पत्रकार जीवनलाई केही घण्टा विराम दिँदै, कार्यक्रमले सहभागीहरुलाई नाचगान र सांस्कृतिक प्रस्तुतिमार्फत रमाइलोको अवसर प्रदान गर्यो।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले कार्यक्रमको उद्देश्य सधैं काममा खटिने पत्रकारहरुलाई एकै ठाउँमा जम्मा गरेर तिजको शुभकामना आदानप्रदान गराउनु रहेको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, सल्लाहकार खिमानन्द भट्टराई, हरिष ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
त्यसैगरी, कार्यक्रममा अग्रज र युवा पत्रकारहरुको उल्लेखनीय सहभागिता रहेको थियो। पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार विनोद परियार, सञ्चार समन्वय परिषद् लुम्बिनी प्रदेशका अध्यक्ष मिलन गाहा, प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्य, मिना ढकाल, प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष स्यामलाल पोख्रेल, जन पत्रकार संघका प्रकाश डुम्रे र विभिन्न पत्रकार संघ-संगठनका अध्यक्ष तथा महिला पत्रकारहरुको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षतामा दिनेश पाण्डे, स्वागत मन्तव्य अस्मिना पाण्डे, र संचालन सिपी खनालले गरेका थिए।
पत्रकारहरुले तिजको मौलिक गीतमा नाचगान गर्दै रमाइलो गर्दै, एक आपसमा भेटघाट र सन्देश आदानप्रदान गर्ने अवसरको सदुपयोग गरेका थिए।













