कपिलवस्तुमा १६ वर्षीय किशोर रामघाट नदीमा डुबेर बेपत्ता

 

धनन्जय उपाध्याय/कपिलवस्तु ।
कपिलवस्तु नगरपालिका–३ डेरवाका अन्दाजी १६ वर्षका मोहन चौहान सोमबार साँझ रामघाट नदीमा डुबेर बेपत्ता भएका छन्।

स्थानीयका अनुसार मिति २०८२ भाद्र ९ गते सोमबार साँझ करिब ५ बजेतिर भैंसी चराउन गएका चौहान साथीहरूसँगै नदीमा पौडी खेल्ने क्रममा अचानक डुबेका थिए। घटनापछि स्थानीय युवाहरूले तत्काल उद्धार प्रयास गरे पनि सफल हुन नसकेको जनाइएको छ।

घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगेको छ। हालसम्म चौहानको अवस्था पत्ता नलागेको र खोजी कार्य निरन्तर भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नदीमा पानीको बहाव तीव्र भएकाले उद्धारमा कठिनाइ भइरहेको छ। आवश्यक स्रोत साधन प्रयोग गरेर चौहानलाई सकेसम्म चाँडो फेला पार्न प्रयास भइरहेको प्रहरीको भनाइ छ।

उक्त घटनाले गाउँभर त्रास र शोकको वातावरण सिर्जना भएको छ। परिवारजन निरन्तर रुवाबासीमा रहेको र खोजी कार्यमा स्थानीयवासी समेत सक्रिय सहभागिता जनाइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation