शंकर प्रसाद पोख्रेल ,
बुटवल, भदौ १० ।
बुटवलको देविनगर, बेलबास, बुद्धनगर लगायतका क्षेत्रमा यस वर्षको तीज पर्व दिदीबहिनीहरूले हर्षोल्लासका साथ भव्य रूपले मनाइरहेकाछन । परम्परा र आधुनिकताको संगममा महिलाहरू हरियो र रातो पोशाकमा सिँगारिएर सामूहिक गीत–नृत्यमा रमाएका थिए ।
बिहानैदेखि टोल–टोलबाट आएका महिलाहरू ठूलो उत्साहका साथ भेला भएका थिए । रंगीन पोशाक, परम्परागत गहना र खुशीले झल्किएको अनुहारले वातावरण नै उत्सवमय बनाएको थियो । तीजका परम्परागत गीत, देखि आधुनिक तालसम्ममा सहभागीहरूले नाचेर उल्लास प्रकट गरेका देखिन्थे ।
“तीज केवल उपवास वा पूजापाठको पर्व मात्र होइन, यो हाम्रो संस्कृतिको धरोहर, खुशी बाँड्ने अवसर र समाजमा एकता जगाउने मंच पनि हो,” सहभागी दिदीबहिनीहरूको यस्तो भाव पाउन सकिन्थ्यो ।
धार्मिक तथा सांस्कृतिक परम्परालाई जोगाउँदै मनोरञ्जन र सामाजिक एकताको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको यस सामूहिक उत्सवमा महिला–पुरुष, बालबालिका र युवा पुस्ताको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
गीत–नृत्य, हाँसो–खेल र भाईचाराले भरिएको माहोलले बुटवलका चोकहरु विशेष गरी देबिनगर चौपारी र बेलबास रंगीन बनेका थिए। यसरी तीज पर्वले बुटवलमा सामाजिक एकता, सांस्कृतिक गौरव र महिला सशक्तीकरणको झल्को दिँदै भव्य उत्सवको रुप लिएको छ ।











