शिक्षा विधेयकमा निजी विद्यालयको भूमिका सुनिश्चित गर्न बुटवल उद्योग वाणिज्य संघको माग

शंकर प्रसाद पोख्रेल

बुटवल, भदौ १० ।
संघीय संसदमा विचाराधीन शिक्षा सम्बन्धी विधेयक, २०८० मा समावेश प्रावधानबारे बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले गम्भीर ध्यानाकर्षण गराएको छ । संघले विधेयकले शिक्षा प्रणालीलाई सबल बनाउन टेवा पुर्‍याउने अपेक्षा व्यक्त गर्दै पनि निजी विद्यालयलाई कमजोर पार्ने खालका प्रावधान अस्वीकार्य हुने स्पष्ट पारेको छ ।

संघका अध्यक्ष हरिप्रसाद अर्याल द्वारा  मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ –
“निजी विद्यालयहरूले लामो समयदेखि गुणस्तरीय शिक्षा प्रवाह गर्दै आएका छन् । देशको कुल शिक्षा क्षेत्रमा करिब ३५ प्रतिशत योगदान दिँदै पाँच लाखभन्दा बढी रोजगारी सिर्जना गरेका निजी विद्यालयलाई निषेध गर्ने खालका प्रावधान अस्वीकार्य छन् ।”

विधेयकमा निजी विद्यालयलाई सामुदायिक विद्यालयसँग बराबरी गर्ने प्रावधान अव्यावहारिक भएको संघको ठहर छ । संघले यसले शिक्षा प्रणालीमै असन्तुलन ल्याउने, भविष्यमा शिक्षा क्षेत्र कमजोर हुने र विद्यार्थीहरू गुणस्तरीय शिक्षा पाउनबाट वञ्चित हुने चेतावनी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ कि, निजी विद्यालयहरूले नेपालका हजारौं विद्यार्थीलाई उच्च शिक्षाको अवसर दिलाउँदै राष्ट्र निर्माणमा निरन्तर योगदान गर्दै आएका छन् । त्यसैले उनीहरूको भूमिकालाई नकार्ने वा सीमित गर्ने प्रयत्न तत्काल सच्याउनुपर्ने संघको माग छ ।

संघले यस विषयमा राजनीतिक दल, माननीय सांसद तथा सरोकारवाला सबैलाई गम्भीर ध्यानाकर्षण गराउँदै शिक्षा विधेयक २०८० पुनःसंशोधन गर्न आग्रह गरेको छ । साथै, नीति निर्माण गर्दा सामाजिक न्याय, समान अवसर र दीर्घकालीन हितलाई आधार बनाउनुपर्नेमा जोड दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation