पाँचकुलामा मुल प्रवाह नेपाली एकता समाजद्वारा तीज उत्सव धूमधामका साथ सम्पन्न

शंकर प्रसाद पोख्रेल

ठूलो संख्यामा  महिलाले रातो सारी र परम्परागत गीतमार्फत देखाए संस्कृतिको रंग

पाँचकुला, २६ अगष्ट ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति पाँचकुला–डेहराबस्सीद्वारा आयोजित हरितालिका तीजको भव्य सांस्कृतिक कार्यक्रम पाँचकुला सेक्टर–१२ स्थित यादव भवनमा धूमधामका साथ सम्पन्न भएको छ । कार्यक्रममा पाँचकुला, डेहराबस्सी, जिरकपुर, अमरावती, पिन्जौरलगायत विभिन्न क्षेत्रका नेपाली समुदायका हजारौँ महिला, युवती र बालबालिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

महिलाको उल्लासमय प्रस्तुति

कार्यक्रममा सहभागी महिलाहरू परम्परागत रातो सारी, हरियो चुरा र सिङ्गारमा झल्किँदै उपस्थित भएका थिए । उनीहरूले समूहगत नृत्य, प्रगतिशील तिका   गीतमा रमाइलो प्रस्तुत गर्दै वातावरणलाई उल्लासमय बनाएका थिय।। स–साना बालिकाहरूले दिएको मनमोहक प्रस्तुति दर्शकलाई मन्त्रमुग्ध पार्ने खालको रहेको थियो ।

विशिष्ट अतिथि र अतिथिको मन्तव्य

यस अवसरमा विशिष्ट अतिथि तिलक राम पौडेल  तथा मुख्य अतिथि प्रेम आचार्यले  तिजको महत्त्व  एकता  संस्कृतिको महत्वबारे प्रकाश पार्दै उपस्थित जनसमूहलाई संबोधन गर्नुभएको थियो।
त्यसैगरी, महिला संयोजक माया आचार्य स्वयं महिलासँगै मंचमा नृत्य प्रस्तुत गर्दै संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने सन्देश दिनुभयो। कार्यक्रममा महिला क्षेत्रीय संयोजक डी. भी. थापा, वरिष्ठ सदस्य पूरन थापा, चीत माया, कुमारी थापा लगायत नेपाली समाजका दर्जनौँ अग्रज तथा महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

हरितालिका तीजको महत्व

हरितालिका तीज नेपाली समाजमा अत्यन्तै पवित्र पर्वका रूपमा मानिन्छ । पौराणिक विश्वासअनुसार, देवी पार्वतीले भगवान शिवलाई वरका रूपमा प्राप्त गर्न कठोर तपस्या गरेको सम्झनामा यो पर्व मनाइन्छ । यस दिन महिलाहरू निर्जला व्रत राखी भगवान शिव–पार्वतीको पूजा आराधना गर्छन् र पतिको दीर्घायु, दाम्पत्य सुख तथा परिवारको समृद्धिको कामना गर्छन् । विवाहित महिलाले मायाबाट सिँगार–सामान र उपहार प्राप्त गर्ने परम्परा रहिआएको छ भने अविवाहित युवतीहरूले योग्य वर पाउनको लागि यो व्रत गर्ने गर्दछन् ।

पाँचकुलामा  गीत–नृत्य,  शुभकामना आदानप्रदान तथा सांस्कृतिक प्रस्तुतिसहित मनाइएको हरितालिका तीज उत्सवले नेपाली समाजबीच भाईचारा, एकता र संस्कृतिप्रतिको सम्मानलाई झनै मजबुत बनाएको सहभागीहरूले बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation