११ भदौ, काठमाडौं । डेढ महिनाअघि तिब्बततर्फबाट आएको बाढीले बगाएको नेपाल–चीन जोड्ने मितेरी पुलको स्थानमा बेलिब्रिज निर्माणको तयारी भइरहेको छ । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका रसुवागढी ठप्प भएपछि तत्काल खोल्न चिनियाँ पक्षले पहल गरेको हो ।
गृहमन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार, चीनले ८१ जना कामदारसहित आवश्यक औजार र सामग्री ल्याएर तीन महिनाभित्रै बेलिब्रिज निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । यसका लागि चीनले कामदार पठाउन स्वीकृति माग्दै औपचारिक पत्राचार गरेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय, रसुवाले उक्त स्वीकृतिका लागि गृहमन्त्रालयमा पत्र पठाइसकेको छ । काफ्लेका भनाइअनुसार कूटनीतिक प्रक्रिया अघि बढिरहेको छ र चाँडै अनुमति दिने तयारी गरिएको छ ।
रसुवामा आएको बाढीका कारण ११ जनाको मृत्यु भएको थियो भने सडक अवरुद्ध हुँदा रसुवागढी सुक्खा बन्दरगाह र आसपासका जलविद्युत् आयोजनासमेत प्रभावित भएका छन् । मितेरी पुल बगाएपछि व्यापारिक गतिविधि पूर्ण रूपमा अवरुद्ध भएका कारण बेलिब्रिज निर्माणलाई अत्यावश्यक मानिएको छ ।











