मुल प्रबाह द्वारा सहिद सरोज शर्माको ३६औँ स्मृति दिवसमा श्रद्धाञ्जली अर्पण

शंकर प्रसाद पोख्रेल

नयाँदिल्ली, २७ अगष्ट २०२५।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सहिद सरोज शर्मा “शोभाकर धनञ्जय”को ३६औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली अर्पण गरेको छ। सन् १९८८ को अगष्ट २६ मा तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध संघर्षरत् शर्मा दिल्लीमा आयोजित कार्यक्रममा सहभागी हुँदै गर्दा क्रूरतापूर्वक हत्या गरिएका थिए।

समाजका अध्यक्ष प्रेम पौडेलले जारी गरेको प्रेस वक्तव्यमा सहिद शर्माको बलिदान नेपाली एकता र प्रवासी नेपालीहरूको चेतना जगाउन ऐतिहासिक Turning Point भएको उल्लेख छ। वक्तव्यमा भनिएको छ, “सहिद शर्माले देखाएको बाटो आज पनि हाम्रो संगठनलाई प्रेरणा दिइरहेको छ। जनताको हितका लागि उनले देखाएको प्रतिबद्धता, अनुशासन र क्रान्तिकारी दृष्टिकोण हाम्रो यात्राको मार्गदर्शक बनेको छ।”

समाजले विगतमा पनि सहिद शर्माको योगदानलाई निरन्तर स्मरण गर्दै आएको र उहाँको बलिदानलाई संस्थागत स्मृति दिवसको रूपमा मनाउँदै आएको जनाएको छ। स्मृति दिवसका अवसरमा समाजले दिल्लीस्थित विभिन्न कार्यक्रममार्फत उहाँको आदर्शलाई नयाँ पुस्तामा प्रवाह गर्ने संकल्प व्यक्त गरेको छ।

अध्यक्ष पौडेलले भने, “हामीले श्रमजीवी वर्गको विचार र अधिकारको रक्षा गर्दै संगठनलाई अझ सबल बनाउन निरन्तर अभियान चलाइरहेका छौँ। सहिद शर्माको सपना पूरा गर्ने दायित्व हाम्रो काँधमा छ।”

संगठनले सहिदको बलिदानलाई उच्च सम्मानका साथ स्मरण गर्दै उहाँले देखाएको मार्गमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation