तारापुर, २७ अगस्ट २०२५।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, तारापुर नगर समितिको महिला विभागद्वारा आयोजित प्रगतिशील तीज कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको पहिलो चरणको सञ्चालन चन्द्र सुवेदीले गर्नुभएको थियो भने अध्यक्षता महिला विभागकी संयोजक सुनिता पुनले गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि समाजको केन्द्रीय सचिवालयका गोबिन्द थापा रहनुभएको थियो। विशेष अतिथिमा मध्यपश्चिम भारत क्षेत्रीय महिला विभागकी संयोजक रेणुका कुंवर उपस्थित रहनुभएको थियो।
कार्यक्रममा केन्द्रीय सदस्य टंक कुंवर, मध्यपश्चिम क्षेत्रीय अध्यक्ष स्याम तरामु, तारापुर नगर अध्यक्ष खड्क राई, राइगड नगरका सन्तु थापा, मुम्बई नगरका चन्द्र सुबेदी, चन्द्र सिंह लगायत विभिन्न नगर, क्षेत्रीय समिति र विभागका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिती रहेको थियो।
उद्घाटन कार्यक्रम मैनबत्ती बालेर गोबिन्द थापाले गर्नुभयो भने स्वागत मन्तव्य लोकमणी पान्डेयले प्रस्तुत गर्नुभयो। कार्यक्रममा रक्तिम कलाकारहरूले नृत्यमार्फत् सहभागी जनसमुदायलाई स्वागत गरेका थिए।
प्रमुख अतिथि गोबिन्द थापाले भारतमा रहेका नेपालीहरूको हकहितका लागि मूल प्रवाह नेपाली एकता समाजले निरन्तर संघर्ष गर्दै आएको बताउनुभयो। उहाँले १९५० को सन्धी अनुसार भारतमा बस्ने नेपालीहरूलाई रोजगार, व्यवसाय, बैंक खाता लगायतका अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी महिला विभागकी संयोजक रेणुका कुंवरले भारतमा रहेका नेपाली महिलाहरूले भोग्नुपरेका समस्याबारे उल्लेख गर्दै, बेचबिखनमा परेका चेलीहरूको उद्दारमा समाज सक्रिय रहेको जानकारी दिनुभयो। साथै, सबै महिलालाई संगठनमा आवद्ध भई संगठित संघर्ष गर्न आह्वान गर्नुभयो।
दोस्रो चरणको कार्यक्रमको सञ्चालन सान्ती थापाले गर्नुभएको थियो। कार्यक्रममा समाजका पुराना योगदानकर्ताहरू लिला सारु मगर, धनबहादुर केसी र तारापुर नगर अध्यक्ष खड्क राईलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमलाई सफल बनाउन स्वयंसेवक तथा रक्तिम कलाकारहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो। दस दिनको छोटो तयारीमै सम्पन्न तीज कार्यक्रमलाई तारापुरवासी दाजुभाइ, दिदीबहिनी तथा आमा–बुबाले आर्थिक, नैतिक र भौतिक सहयोग गरेकोमा आयोजक समितिले विशेष आभार व्यक्त गरेको छ।













