अछाममा ढुङ्गा खस्दा आमा–छोरीसहित दुईको ज्यान गयो, एक गम्भीर घाइते

 

अछाम, भदौ ,१३
अछामको पञ्चदेवल विनायक नगरपालिका–८ चुरखोली टोलमा शुक्रबार बिहान पहिरोको ढुङ्गाले लागेर आमा–छोरीसहित दुईजनाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छिन्।

बिहान करिब साढे ५ बजेतिर माथिबाट खसेको ढुङ्गाले लाग्दा ३५ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको हो। सोही घटनामा ३६ वर्षीया रत्ना भण्डारी गम्भीर घाइते भएकी छन्। उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत लगिएको छ।

टाउको र हड्डीमा गम्भीर चोट लागेकी घाइते भण्डारी बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ।

स्थानीयका अनुसार मृतक खनाल र भण्डारी मासिक धर्म भएका कारण राति घरभन्दा टाढा खेतनजिकै त्रिपालको टहरो बनाएर सुतेका थिए। रातभरको अविरल वर्षापछि माथिबाट खसेको ढुङ्गाले उनीहरू सुतेको ठाउँमा प्रहार हुँदा यो दुःखद घटना भएको हो।

घटनापछि स्थानीयवासी स्तब्ध बनेका छन्। प्रकृतिजन्य विपद्का कारण अझै पनि गाउँका महिलाहरू असुरक्षित स्थानमा सुत्नुपर्ने बाध्यताले यस्ता त्रासदी दोहोरिन सक्ने भन्दै सचेतना र सुरक्षित व्यवस्था गर्नुपर्ने आवाज उठ्न थालेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation