श्रीमती र छोराहरूसमेत प्रतिवादीमा, अख्तियारले विशेष अदालतमा मुद्दा दायर
रुपन्देही । रुपन्देहीस्थित भैरहवा नापी कार्यालयका हाकिम सुग्रीव यादवमाथि करिब ५ करोड ८० लाख रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको ठहर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवसँगै उनका श्रीमती र दुई छोराविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारको अनुसन्धानअनुसार, यादवले विभागीय प्रमुख र नेताहरूसँग मिलेमतो गरेर दशकौँसम्म निमित्त हाकिमको जिम्मेवारी सम्हाल्दै सरकारी जग्गा मिलान, सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा पार्ने लगायतका गतिविधिबाट ठुलो आर्थिक चलखेल गरेका थिए।
वैध आयभन्दा करोडौँ बढी खर्च
अख्तियारले २०५३ साल असार १३ देखि २०८१ असार १६ सम्मको अवधि मूल्यांकन गर्दा, यादवको तलव–भत्तासहितको वैध आय ९ करोड ३ लाख रुपैयाँ मात्र देखिएको छ। तर, सोही अवधिमा जग्गा–घर खरिद, शेयर, सवारी साधन तथा व्यवसायिक लगानीमा १४ करोड ८३ लाख रुपैयाँभन्दा बढी खर्च भएको पाइएको छ।
यसरी आय–व्ययको हिसाब गर्दा यादवले करिब ५ करोड ७९ लाख ६२ हजार रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको अख्तियारले ठहर गरेको हो।
परिवारसमेत मुछिए
यादवले आर्जन गरेको सम्पत्ति आफ्नी श्रीमती गायत्री यादव र छोराहरू सुधान्सु यादव तथा शुभम यादवका नाममा दर्ता गरेको पाइएको छ। त्यसैले अख्तियारले सम्पत्ति जफत गर्ने मागसहित उनीहरूलाई पनि प्रतिवादीमा समावेश गरेको छ।











