कविता :माइतीघर

लालकिरण पोख्रेल 

याे माइतीघर मण्डला हाे
राजधानीको मुटु हाे
वारिपारि चमेलीका बास छन्
चिल्ला गाडी सडकमा कुद्छन्
याे माइतीघर मण्डला हाे  ।

एउटा ठूलो राष्ट्रिय झण्डा छ
चारैतिर पसलले घेरेकाे छ
बीचमा माइतीघर अटल छ
दैनिक हजारौं यात्री
ओहोरदोहोर गर्दछन्
याे माइतीघर मण्डला हाे ।

सयाैंलाई राेजगारी दिएको छ
कराेडाैंलाई स्वतन्त्रता दिलाएको छ
कलमजीवी देखि श्रमजीवी सम्म
अनसन बस्छन् लटरम्म
याे माइतीघर मणडला हाे ।

कहिल्यै झरी भनेन
कहिल्यै घाम भनेन
कहिल्यै चिसो भनेन
कहिल्यै उजाड बनेन
याे माइतीघर मण्डला हाे ।

कहिल्यै थकित छैन्
कहिल्यै गलित छैन्
कहिल्यै शासित छैन्
कहिल्यै आश्रित छैन्
याे माइतीघर मण्डला हाे ।

धेरैलाई जागिरकाे ग्यारेन्टी गराइदिने
किसानलाई हक अधिकार दिलाउने
सुकुम्बासीका माग सुनाउने
उखु किसानका वेदना बिसाउने
याे माइतीघर मण्डला हाे

कलाकार यहीँ आएर  श्रमिकका गीत गाउँने
गणतन्त्रवादी  यहीँ आएर आफ्नो कथा सुनाउने
राजावादी देखि गणतन्त्रवादी यहीँ आउने
सबैलाई विचार पाेख्न यहीँ ठाउँ चाहिने
याे माइतीघर मण्डला हाे ।

कसैले ज्यान गुमाए
कसैले सत्ता गुमाए
कसैले नयाँ सत्ता जन्माए
राष्ट्रियताकाे चर्को नारा लगाए
याे माइतीघर मण्डला हाे ।

वाह ! क्या ! गजबको रहेछ त्यो ठाउँ
दैनिक आन्दोलन हुने
लाखौंलाख सङ्ख्यामा भेला हुने
कहिल्यै आन्दोलनकारीले नछाड्ने
याे माइतीघर मण्डला हाे ।

महङ्गीले आकाश छुँदा पहिलोपटक
माइतीघर जाग्राम हुन्छ
लिपुलेक र कालापानी भारतमा मिसिदा
माइतीघरकाे मुटु चिरिन्छ
याे माइतीघर मण्डला हाे ।

महाकाली सन्धि हुँदा हाेस् कि गण्डकी बेचिदा हाेस्
काेसीकाे पानी भारतलाई सुम्पिदा हाेस् कि
कर्णालीमा विस्तारवादले गिद्वेदृष्टि लगाउँदा हाेस्
नेपाली आमाका सन्तान बाकसमा आउँदा हाेस्
सबैको आवाजलाई बुलन्द उठाउने ठाउँ
याे माइतीघर मण्डला हाे ।

नयाँ वर्ष कहिल्यै आएन
चाडपर्वले कहिल्यै रङगिएन
आन्दोलनकारीले कहिल्यै छाेडेनन्
सुरक्षाकर्मीले कहिल्यै विश्राम लिएनन्
याे माइतीघर मण्डला हाे ।

काठमाडौका जात्रा लाेप हुने भए
विदेशीलाई मनाेरञ्जन दिने भए
सामराज्यवादकाे क्रीडाभूमि बनाए
हेर्दाहेर्दै देश हरिकङ्गाल बनाए
याे माइतीघर मण्डला हाे ।

 

राजा देखि रङ्क सम्म
ज्यामी देखि मजदुर सम्म
कर्मचारी देखि ईन्जिनियर सम्म
डाक्टर देखि पाइलट सम्म
सबैले वाकशक्ति प्रकट गर्ने ठाउँ
याे माइतीघर घर मण्डला हाे ।

सबैको लाेकप्रिय माइतीघर
सबैलाई समान व्यवहार गर्ने
जातजाति, भाषाभाषी र धर्म
महिलाको मात्रै नभएर
सबै वर्गको उत्थानमा अडिग बसेकाे
याे माइतीघर मण्डला हाे ।

सिटामलकाे अभावमा युवाले ज्यान गुमाउँदा
छाउप्रथालाई देवता मान्दा युवतीले ज्यान गुमाउँदा
सुत्केरी वेथाले च्याप्दा उपचार नपाएर ज्यानै गुमाउँदा
शासकहरू पुष्पविमानमा विदेश सयर गर्दा
वर्गीय मुक्ति आन्दोलनको संखघाेष गर्ने ठाउँ हाे
याे माइतीघर मण्डला हाे ।

पत्रकालाई समाचार बनाउन सजिलो
टेलिभिजनलाई जुलुस र भिडियो सजिलो
कसैले टिकटक बनाए कसैले युट्युव बनाए
सामाजिक सञ्जाल रङ्गिएकाे छ
हाम्रो  देशमा ७६१ सरकार छन्
सबैलाई फाेटा खिचाएर पाेष्ट गर्न हतार छ
कसले सुन्छ माइतीघरका कुरा
याे माइतीघर मण्डला हाे ।

बिहान भाले नबास्दै
छाेरा विदेशिएकाे समाचार आउँछ
पाठशाला गएकी छाेरीकाे
मृत्युको खबर आउँछ
दिनमा हिड्दा पनि डर रातिमा झन डर
डरै डरमा गयो जीवन
देश बनाउने कसलाई छ कर
याे माइतीघर मण्डला हाे ।

विश्वका शक्तिशाली राष्ट्र आपस समर गर्दा
काठमाडौंकाे राजनीति तरङ्गीत हुन्छ
माइतीमा मसाल जुलुस निस्कन्छन्
अश्रुग्यास र पानीका फाेहाेरा छाेडिन्छ
लाठीचार्ज र रबरका गाेलीकाे वर्षा हुन्छ
माइतीघर रणभूमिमा रूपान्तरण हुँदा
गृहकाे विज्ञप्ति आउँछ हाम्रो देशमा
याे माइतीघर मण्डला हाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation