प्रकाशनको सँघारमा बाँकेको नारी श्रष्टा र सिर्जना

 

बाँके नेपालगञ्जका साहित्यकार तथा समालोचक लेकप्रसाद प्याकुरेलकृत बाँकेको नारी स्रष्टा र सिर्जना २०८२/५/२१ शनिबारका दिन नेपालगञ्ज स्थित स्वस्तिक कटेजमा आयोजना हुने भव्य समारोहका बिच सार्वजनिक गरिँदैछ। कल्पना फाउन्डेसन नेपालले प्रकाशनमा ल्याएको यस समालोचना संग्रहमा बाँकेमा रहेर साहित्य कर्ममा क्रियाशील सुरुदेखि हालसम्मका २६ जना महिला स्रष्टाहरूका ५६ वटा साहित्यिक कृतिहरूको समालोचना गरिएको छ। हालसम्म एउटै जिल्लामा क्रियाशील सबै महिला साहित्यकारहरूको सबै कृतिहरूको समालोचना गरी प्रकाशनमा ल्याइएका कारण पनि प्रस्तुत संग्रह ऐतिहासिक दस्तावेज भएको र यसले इतिहासको गर्भमा बिलाउँदै गरेका र हाल क्रियाशील सम्पूर्ण महिला साहित्यकारहरूको अध्ययन गर्न चाहने अध्यताहरूका लागि राम्रो पठन सामग्री बन्न सक्ने क्षमता राख्ने दाबी प्रकाशन समूहको रहेको छ। समालोचना संग्रहमा विसं २०२३ मा भावसुमन कवितासंग्रह प्रकाशन गरी बाँकेका महिलाहरूद्वारा सिर्जित पहिलो पुस्तकाकार साहित्य कृति पाठकहरू माझ ल्याएकी ल्याएकी श्यामन्तक मणि राणा को वैयक्तिक एवं साहित्यिक परिचय, साहित्यिक प्रवृत्ति, र उनको भाव सुमन कविताको समीक्षा देखि २०८१ मा इन्दु कविता संग्रह सहित उदाएकी इन्दिरा गौतम अधिकारीको परिचय साहित्यिक प्रवृत्ति तथा इन्दु कविताको समीक्षालाई समेटिएको छ। त्यसैगरी संग्रहमा किरण आचार्य, कल्पना पौडेल जिज्ञासु, कल्पना खरेल, ऋचा लुइँटेल,सुमित्रा न्यौपाने, मिना बराल, चरित्रा शाह लगायत २६ जना महिला स्रष्टाहरूको वैक्तिक एवं साहित्यिक परिचय, साहित्यिक प्रवृत्ति एवं कृतिगत समीक्षा परेको छ। फाउन्डेसनकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुकाअनुसार बाँकेमा रहेर कम्तिमा एउटा मात्रै साहित्यिक कृति प्रकाशनमा ल्याएका सबै नारी साहित्यकारहरू संग्रहमा संग्रहित समीक्षाभित्र अटाएका छन् । बाँकेमा रहेर साहित्यमा कलम चलाए पनि एउटै साहित्यकृतिहरू प्रकाशनमा नआएका अथवा संयुक्त रुपमा प्रकाशनमा ल्याइएका कृति र कृतिकारको चर्चा यसको भूमिका खण्डमा मात्रै सीमित गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation