गणेश आचार्य
मानव समाजको यात्रा कहिल्यै स्थिर र शान्त छैन । यो यात्रा निरन्तर द्वन्द्व, असमानता र सम्भावनाको टकरावबीच अघि बढेको छ । आदिम समाज साझा श्रम र सामूहिक जीवनमा आधारित थियो, जहाँ निजी सम्पत्ति थिएन । तर श्रम विभाजन र साधनको असमान पहुँचले समाजलाई वर्गमा विभाजित गर्यो । इतिहासले त्यसपछि सामन्तवाद, पूँजीवाद हुँदै निरन्तर नयाँ संरचना जन्मायो, तर हरेक संरचनामा शोषण, असमानता र शक्ति असन्तुलन कायम रह्यो । यही असमानता र अन्यायले मानिसलाई प्रश्न सोध्न बाध्य पार्छ । के यो स्थिति अनन्तकालसम्म रहन सक्छ ? के समानता केवल आदर्श हो ?
हेगेलले इतिहासलाई विचारको निरन्तर प्रवाहको रूपमा देखे । तर मार्क्सले यसलाई भौतिक आधारमा उभ्याउँदै भने, “आजसम्मको सम्पूर्ण इतिहास वर्ग संघर्षको इतिहास हो ।” यही वर्ग संघर्षले नै समाजलाई रूपान्तरण गर्यो । उत्पादनका साधन कसको हातमा छन् भन्ने प्रश्नले नै शक्ति कसको नियन्त्रणमा हुन्छ भन्ने निर्णय गर्छ । जब उत्पादनका साधन थोरै वर्गले कब्जा गर्छन्, बहुसंख्यक जनता शोषित हुन्छन्, अनि चेतनामा विद्रोहको बीउ पलाउँछ । मानिस कम्युनिस्ट हुन्छ किनभने ऊ बुझ्छ कि शोषण कुनै संयोग होइन, यो विद्यमान उत्पादन प्रणालीकै अनिवार्य परिणाम हो ।
कम्युनिस्ट चेतना केवल भावनात्मक आक्रोश होइन । यो वैज्ञानिक भविष्यदृष्टि हो । मार्क्सले देखाए कि सुधार वा कानुनी पैचाले मात्र शोषण अन्त्य हुँदैन । “दर्शनलाई वास्तविक बनाउनका लागि श्रमिक वर्गलाई सशक्त बनाउनु पर्छ, भन्ने एङ्गेल्सको भनाइ आज पनि उत्तिकै प्रासंगिक छ । मानिस कम्युनिस्ट तब हुन्छ जब ऊ बुझ्छ कि विद्यमान संरचनालाई तोडेर नयाँ उत्पादन सम्बन्ध, नयाँ राजनीतिक संरचना र नयाँ चेतना निर्माण नगरी स्थायी मुक्ति सम्भव छैन ।
इतिहासका ठूला क्रान्तिहरू यसकै प्रमाण हुन् । १९१७ को रुसी क्रान्तिले मजदुर र किसानलाई सत्ता दिलायो, साम्राज्यवादको संरचना भत्कायो । १९४९ मा चिनियाँ जनक्रान्तिले सामन्तवाद, साम्राज्यवाद र विदेशी हस्तक्षेपलाई अन्त्य गर्यो । भियतनामले अमेरिकी साम्राज्यवादलाई परास्त गर्दै देखायो कि जनताको सामूहिक शक्ति असम्भव देखिने युद्धलाई पनि उल्ट्याउन सक्छ । क्युबामा चे ग्वेभेराले भनेका थिए, “यदि तपाईं अन्यायका विरुद्ध रिसाउँनुहुदैन भने तपाईंलाई मानव भन्न सकिँदैन ।” यही चेतना, यही भावनात्मक तातोपन र वैज्ञानिक दृष्टिकोणले क्युबाली जनतालाई दशौं वर्षसम्मको नाकाबन्दी सहेर पनि समाजवादमा अडिग बनायो ।
अफ्रिकामा अमिलकार काब्रालले राष्ट्रिय मुक्ति आन्दोलनलाई वर्गीय चेतनासँग गाँसेर अगाडि बढाए । उनले भने, “जनताको चेतना उठाउनु भनेको मात्र प्रचार होइन, उनीहरूलाई आफ्नै जीवनको शोषण र सम्भावना बुझाउन सक्नु हो ।” यही विचारले औपनिवेशिक शक्तिहरूलाई चुनौती दिँदै नयाँ राष्ट्रहरूको जन्म गरायो।
दक्षिण एशियाली सन्दर्भमा पनि कम्युनिस्ट चेतना केवल बाहिरबाट आएको विचार होइन, यो आन्तरिक असमानता र संघर्षको परिणाम हो । भारतमा मजदुर, किसान र दलितहरूको विद्रोह, बङ्गलादेशमा मुक्ति युद्ध, श्रीलङ्कामा श्रमिक आन्दोलनहरू । यी सबैले जनतालाई बुझाए कि राष्ट्रिय स्वतन्त्रता मात्र पर्याप्त छैन, वर्गीय समानता र सामूहिक मुक्ति बिना समाज पूर्ण स्वतन्त्र हुँदैन ।
नेपालमा पनि विभिन्न जनआन्दोलनहरूले यही चेतनालाई उजागर गरेका छन्। २००७ सालको राणा विरोधी आन्दोलन, २०४६ सालको बहुदलीय आन्दोलन, २०६२/६३ को जनआन्दोलन । यी सबैले जनतालाई निरङ्कुश सत्ता विरुद्ध उठ्न सिकाए । तर संरचनागत असमानता अझै कायम छ । दलालपुँजीवादको गठबन्धनले राज्य कब्जा गर्दै श्रमिक, किसान र उत्पीडित वर्गलाई फेरि विकल्पविहीन बनाएको छ । यही कारण जनतामा फेरि नयाँ वैकल्पिक चेतनाको खोजी बढेको छ।
आज पूँजीवाद नवउदारवादको रूप धारण गरेर अझ जटिल बनेको छ । बहुराष्ट्रिय निगम, अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू, प्रविधि र बजारको विश्वव्यापीकरणले शोषणलाई अझ गहिरो बनाएको छ । शिक्षाको निजीकरणले वर्गीय विभेद बढाएको छ । सञ्चार माध्यम पूँजीवादी विचारधाराको पुनरुत्पादन गर्छन् । धार्मिक प्रचार र सांस्कृतिक संरचनाले भाग्यवाद र सहनशीलताको मनोविज्ञान फैलाउँछन् । जब मानिस यी सबै तहमा अन्याय अनुभव गर्छ, ऊ बुझ्छ कि व्यक्तिगत विद्रोह पर्याप्त छैन । चेतना परिवर्तन र सामूहिक दृष्टिकोण अपरिहार्य हुन्छ ।
कम्युनिस्ट हुनु भनेको केवल विरोध गर्नु होइन, सामूहिक मुक्ति र न्यायको मार्ग रोज्नु हो। चे ग्वेभेराले भनेका थिए, “साँचो क्रान्तिकारी प्रेम बिना क्रान्ति सम्भव छैन।” यस प्रेमले व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितलाई प्राथमिकता दिन्छ । कम्युनिस्ट मानिस आफ्नो जीवनलाई केवल व्यक्तिगत लाभका लागि होइन, सम्पूर्ण मानव सभ्यताको भविष्यसँग बाँध्छ ।
समाज परिवर्तनका लागि कम्युनिस्ट दृष्टिकोणले सधैं तीन तहमा ध्यान दिन्छ । एक उत्पादन सम्बन्ध, दुइ राजनीतिक संरचना, र तिन चेतना । जब यी तीनै तहमा क्रान्ति हुन्छ, तब मात्र स्थायी समानता सम्भव हुन्छ । यही कारण मानिस बुझ्छ कि व्यक्तिगत स्वतन्त्रता पर्याप्त छैन; सामूहिक स्वतन्त्रता बिना वास्तविक मुक्ति सम्भव छैन । हो चि मिन्हले भनेका थिए, “जनताको शक्ति सूर्यको ज्वालाभन्दा पनि ठूलो हुन्छ।” यो भनाइले जनताको सामूहिक चेतनालाई स्पष्ट गर्छ।
अन्ततः मानिस कम्युनिस्ट हुन्छ किनभने ऊ बुझ्छ कि अन्यायलाई स्वीकार्नु मानवताको अपमान हो । ऊ बुझ्छ कि भविष्य लेख्न सकिन्छ, र त्यो भविष्य न्याय, समानता र सामूहिक स्वतन्त्रतामा आधारित हुनुपर्छ । कम्युनिस्ट हुनु भनेको विद्यमान अवस्थाको विरोध मात्र होइन, भोलिको सम्भावनालाई जीवनको लक्ष्य बनाउनु हो । यही चेतना, यही दर्शन र यही संकल्पले मानिसलाई कम्युनिस्ट बनाउँछ ।











