रुपन्देही । आज आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन (सेप्टेम्बर ७-८) खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार ग्रहण राति १०:११ बजे स्पर्श भई ११:१५ बजे सम्मीलन, ११:५६ बजे मध्य, १२:३८ बजे उन्मीलन र १:४१ बजे मोक्ष हुने छ। कूल १ घण्टा २३ मिनेट खग्रास रहने यस ग्रहणको सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट रहनेछ। नेपाल, भारतसहित एसियाका धेरै देशबाट यसलाई प्रत्यक्ष अवलोकन गर्न सकिनेछ।
राशिअनुसार प्रभाव
ज्योतिषशास्त्रअनुसार ग्रहणले विभिन्न राशिमा फरक प्रभाव पार्नेछ।
मेष : लाभ
वृष : सुखम्
मिथुन : माननाश
कर्कट : कष्टम्
सिंह : स्त्रीपीडा
कन्या : सौख्यम्
तुला : चिन्ता
वृश्चिक : व्यथा
धनु : श्रीप्राप्ति
मकर : क्षति
कुम्भ : घात
मीन : व्यय
यस आधारमा मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशि भएका मानिसहरूले ग्रहण हेर्न नहुने बताइएको छ। शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रमा जन्मिएका र कुम्भ राशि भएका व्यक्तिहरूका लागि यो ग्रहण बढी कष्टकर हुने उल्लेख छ।
के गर्नु हुँदैन ?
धार्मिक परम्पराअनुसार ग्रहणको केही घण्टा अगाडि सुतक लाग्छ। दिउँसो १:११ बजेदेखि बालबालिका, वृद्ध र रोगी बाहेक अरूलाई भोजन निषेध गरिएको छ। ग्रहण अवधिमा हवन, मन्त्रजप, दान शुभ मानिने भए पनि सुत्ने, खानपिन गर्ने, मैथुन गर्ने, तेल लगाउने, कसैलाई बाँध्ने वा मार्ने कार्य निषेध गरिएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
वैज्ञानिक दृष्टिकोण
वैज्ञानिकहरूले भने चन्द्रग्रहणलाई पूर्णतया हानिरहित भएको प्रष्ट पारेका छन्। खुला आँखाले हेर्दा कुनै असर नपर्ने भएकाले यसलाई अवलोकन, अध्ययन र अनुसन्धानका दृष्टिले दुर्लभ अवसरका रूपमा लिन सकिने बताइएको छ।
यसअघि फाल्गुन १९ गते मंगलबार फाल्गुन शुक्ल पूर्णिमाका दिन ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्ने पनि खगोलविद्हरूले जानकारी दिएका छन्।











