२२ भदौ, काठमाडौं ।
नयाँ पुस्ता ‘जेनजी’ले सत्ताको मनोमानी, भ्रष्टाचार र असमानताविरुद्ध ८ सेप्टेम्बर (भदौ २२) आइतबार माइतीघर मण्डला र संसद् भवन अगाडि प्रदर्शन गर्ने घोषणा गरेको छ।
‘दी फाइनल रिभोलुसन – वी आर पञ्चिङ अप’ नाम दिइएको यस आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने स्पष्ट नभए पनि युवाहरू सामाजिक सञ्जालमार्फत समूहगत रूपमा सडकमा उत्रन तयारीमा छन्। सामाजिक सञ्जाल बन्द र नेताका परिवारको विलासी जीवनशैलीविरुद्ध उठेको असन्तोषलाई यसपटक सडकमा प्रत्यक्ष प्रदर्शनमार्फत व्यक्त गरिनेछ।
‘नेपो बेबी ट्रेण्ड’सँग जोडिएको यस आन्दोलनले पुरानो राजनीतिक संरचनामा जरा गाडेको परिवारवाद र सम्पत्तिको दुरुपयोगप्रति रोष प्रकट गर्न युवाहरूलाई एकजुट गरेको छ।
सामाजिक सञ्जालमै सीमित देखिने जेनजी पुस्ताको असन्तोषले पहिलोपटक भौतिक आन्दोलनको रूप लिन लागेको हो। यसले देशभरका युवालाई भ्रष्टाचार र असमानताविरुद्ध सडकमा ल्याउने अपेक्षा गरिएको छ।
आन्दोलनका आयोजक वा औपचारिक नेतृत्वकर्ता खुलेर नआए पनि युवाहरूको स्वतःस्फूर्त सहभागिता हुने अनुमान गरिएको छ। माइतीघर मण्डला प्रदर्शनपछि संसद् भवन अगाडि पनि दबाबमूलक कार्यक्रम गर्ने तयारी गरिएको छ।











