“गैरकानुनी, असंवैधानिक र जनविरोधी कदम स्वीकार्य छैन”
काठमाडौं । सरकारले दर्ता नभएका सामाजिक सञ्जालमाथि रोक लगाउने निर्णय गरेको विषयमा नेकपा( मसाल)निकट अखिल नेपाल युबक संगठनका अध्यक्ष गणेश अधिकारीले तीव्र असन्तोष व्यक्त गरेका छन्। आइतबार जारी प्रेस वक्तव्यमार्फत उनले नागरिकका मौलिक अधिकार र अभिव्यक्तिको स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि कदम अस्वीकार्य हुने स्पष्ट पारेका छन्।
अध्यक्ष अधिकारीले भने, “नेपालमा कतिपय अवस्थामा सामाजिक सञ्जालमार्फत अराजक गतिविधि हुने कुरा सत्य हो। तर नियन्त्रण गर्ने नाममा नागरिकको स्वतन्त्रता खोस्ने कार्य हामी स्वीकार गर्दैनौँ।”
उनले सर्वोच्च अदालतले दिएको आदेशअनुसार कानुन बनाएर नियमन गर्ने प्रक्रियालाई समर्थन गर्दै संवैधानिक व्यवस्थाको रक्षा सबैको साझा दायित्व भएको उल्लेख गरे। साथै, नेपालमा सञ्चालन भइरहेका सबै सामाजिक सञ्जालले दर्ता प्रक्रिया पूरा गर्नुपर्नेमा जोड दिँदै अधिकारीले सरकारलाई लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न आह्वान गरे।
वक्तव्यको अन्त्यमा उनले संविधान र नागरिक अधिकारको सम्मान गर्न सचेत गराएका छन्।











