२३ भदौ, नेपालगञ्ज । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार दिउँसो राजधानीस्थित ट्रमा सेन्टरमा मृत्यु भएका विद्यार्थी सुलभ राज श्रेष्ठ नेपालगञ्ज उपमहानगरपालिका–१ का बासिन्दा रहेको खुलेको छ।
काठमाडौंको इञ्जिनियरिङ कलेजमा सिभिल इञ्जिनियरिङ अध्ययनरत सुलभ भेरी स्कुलका सञ्चालक नरेन्द्र श्रेष्ठका एकमात्र छोरा हुन्। वडाध्यक्ष प्रमोद रिजालका अनुसार सन्तान गुमाउने पीडामा रहेका बुवा नरेन्द्र सोमबार साँझ ६ बजे नेपालगञ्जबाट हवाइमार्ग हुँदै काठमाडौं पुगेका छन्।
सुलभ पढाइमा जेहेन्दार र मिहेनती भएको उनका छिमेकी भोजराज शर्माले बताए। उनले थपे, “सुलभ परिवारकै मात्र होइन, टोलकै आशा थियो, यस्तो पीडादायी खबर सुन्दा हामी सबै स्तब्ध छौँ।”
सुलभको निधनपछि नेपालगञ्जको धम्बोझीस्थित उनको घर शोकमा डुबेको छ। घरमा आफन्त र छिमेकीहरूको भिड लागेको छ।
सोमबार भएको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३४७ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।(अनलाइन खबर)











