प्रधानमन्त्रीको कुर्सी केवल शक्तिको प्रतीक होइन, त्यो जिम्मेवारी र नैतिकताको केन्द्रबिन्दु पनि हो। तर आज यो कुर्सी युवाको रगतले भिजेको छ। निर्दोष युवाहरू सडकमा ढलेपछि पनि कुर्सीमा टाँसिइरहन खोज्नु केवल सत्ताको लोभ मात्र होइन, समाजप्रतिको घोर अपराध हो। युवाको रगतले लतपतिएको हात लिएर नेतृत्वको कुर्सीमा एक मिनेट बस्न मिल्दैन।
हामीले बुझ्नैपर्छ—युवाहरूको आक्रोश केवल असन्तुष्टिको स्वर होइन, त्यो भविष्यको आवाज हो। जब युवा पुस्ता सडकमा आउँछ, त्यो सामान्य असहमति होइन, यो गहिरो राजनीतिक, सामाजिक र नैतिक संकटको संकेत हो। यस्ता अवस्थामा नेतृत्वले मौन बस्नु, समवेदना मात्र व्यक्त गरेर टार्न खोज्नु, अझ ठूलो अपराध हुन्छ। मौनता भनेको पीडाको समर्थन हो, निष्क्रियता भनेको अन्यायको निरन्तरता हो।
नेपाली समाजलाई अहिले एउटा ठूलो प्रश्नले घेरेको छ—के हामी अझै पनि पीडितको रगतसँग सम्झौता गरेर बाँचिरहने हो? यदि हो भने, हाम्रो समाज नै मुर्दा सावित हुनेछ। तर यदि हामी उठ्छौँ, बोल्छौँ र अन्यायको सामना गर्छौँ भने मात्र हामीले आफूलाई फेरि जिउँदो सावित गर्न सक्छौँ। यही घडीमा नागरिकको भूमिका निर्णायक हुन्छ।
सत्तामा बस्नेहरूले यो सत्य आत्मसात गर्नुपर्छ—युवाको रगतसँग सम्झौता सम्भव छैन। भ्रष्टाचार, दण्डहीनता र सत्ता–उनमादले जन्माएको यो क्रूर यथार्थलाई टार्ने बाटो छैन। त्यसको एक मात्र उत्तर छ—न्याय।
न्यायप्रति इमानदार कदम चाल्नु नेतृत्वको जिम्मेवारी हो, र यदि त्यो पूरा गर्न असफल भए भने इतिहासले कठोर फैसला गर्नेछ।
आजको दिन, आजको घडी, हाम्रो समाजको चेतको परीक्षा हो। युवाको बलिदान व्यर्थ नजाओस् भन्ने प्रतिवद्धता नै हाम्रो वास्तविक नागरिक धर्म हो।











