“१९ जीवन, सयौँ घाइते : मसालको आक्रोश– सरकारको हातमा रगतको दाग”

काठमाडौँ ।
नेकपा (मसाल) ले हिजो सम्पन्न जेनजी प्रदर्शनमा सरकारले अनावश्यक बलप्रयोग गरेको भन्दै तीव्र विरोध जनाएको छ । पार्टीका महामन्त्री  मोहनविक्रम सिंहको हस्ताक्षरमा भदौ २४ गते जारी प्रेस वक्तव्यमार्फत मसालले उक्त निष्कर्ष सार्वजनिक गरेको हो ।

वक्तव्यमा घटनाप्रति गहिरो दुःख प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनप्रति समवेदना र घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

मसालले सामाजिक सञ्जाल नियमनसम्बन्धी विषयमा सर्वोच्च अदालतले कानुन बनाएर मात्र अघि बढ्न निर्देशन दिएकामा सरकारले त्यसको पालना नगरी स्वेच्छाचारी ढंगले रोक लगाउने कार्य गरेको आरोप लगाएको छ । त्यही कदमकै कारण व्यापक आक्रोश उत्पन्न भई जेनजी आन्दोलन चर्किएको भन्दै वक्तव्यमा घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने स्पष्ट गरिएको छ ।

“हिजोको प्रदर्शनलाई दबाउन सरकारले शक्तिको अनावश्यक प्रयोग गर्‍यो, जसको परिणामस्वरूप १९ जनाको मृत्यु र ४०० भन्दा बढी घाइते भएका छन्,” वक्तव्यमा उल्लेख छ । मसालले यस घटनाप्रति कडा शब्दमा भर्त्सना गर्दै सरकारको कारबाहीलाई ‘क्रुर दमन’ को संज्ञा दिएको छ ।

पार्टीले घटनालाई राष्ट्रिय महत्वको प्रश्नका रूपमा लिँदै यसबारे अन्य पक्षहरूसँग छलफल गरेर साझा समझदारी बनाउन पहल गर्ने जनाएको छ । साथै अहिलेको संवेदनशील परिस्थितिमा सही र सन्तुलित नीति नअपनाए गम्भीर दुष्परिणाम हुन सक्ने चेतावनी पनि दिएको छ ।

मसालले विदेशी वा प्रतिक्रियावादी शक्तिहरूले यस परिस्थितिलाई आफ्ना स्वार्थका लागि उपयोग गर्ने सम्भावनाप्रति समेत सचेत रहनुपर्नेमा जोड दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation