अब नेतृत्वले काध फेर्नुपर्छ

रामराज पाेख्रेल

जेएन–जी पुस्ता वि.सं. २०५४ देखि २०६९ अर्थात् सन् १९९७ देखि २०१२ सम्म जन्मेका उमेर समूहको पुस्ता हो।
आगामी प्रधानमन्त्रीको लाइनमा रहेका नेपाली कांग्रेसका दोस्रो कार्यकालका सभापति शेरबहादुर देउवा वि.सं. २०४८ (सन् १९९१) मा गृहमन्त्री हुँदै वि.सं. २०५२ (सन् १९९५) मा पहिलो पटक र पाँचौँ पटक वि.सं. २०७८ (सन् २०२१) मा प्रधानमन्त्री भएका थिए। उनै देउवा फेरि प्रधानमन्त्री हुने आशामा अहिलेसम्म पार्टीभित्र निर्विकल्प व्यक्ति हुन्।
नेकपा (एमाले) का दोस्रो कार्यकालका अध्यक्ष तथा हालका प्रधानमन्त्री केपी ओली वि.सं. २०५४ (सन् १९९७) मा गृहमन्त्री हुँदै वि.सं. २०७२ (सन् २०१५) देखि हालसम्म तीन पटक प्रधानमन्त्री भइसकेका छन्। हालसम्मको अवस्था हेर्दा पार्टीभित्र नेतृत्वका लागि पनि उनी निर्विकल्प देखिन्छन्।
नेकपा (माओवादी) का आजसम्म जीवनभरका अध्यक्ष तथा १० वर्षको सशस्त्र द्वन्द्वबाट आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ वि.सं. २०६५ (सन् २००८) मा पहिलो पटक र वि.सं. २०७९ (सन् २०२२) मा तेस्रो पटक प्रधानमन्त्री भएका थिए। आगामी नेतृत्वका लागि पनि माओवादीमा प्रचण्डको विकल्प अहिलेसम्म देखिएको छैन।
यसरी सरसर्ती हेर्दा, आगामी दिनमा पनि देशको नेतृत्व यी तीन नेताहरूले नै थाम्ने संकेत देखिन्छ। उमेरको हिसाब गर्दा, तीनै जना नेपाल सरकारले दिने वृद्धभत्ताका लागि तोकिएको न्यूनतम उमेर नाघिसकेका छन्।
मेरो पुस्ता — अर्थात म वि.सं. २०४८ मा कक्षा ६ मा थिएँ, २०५१ मा कक्षा ९ र वि.सं. २०५२ मा एसएलसी दिएँ। त्यो बेला म १६ वर्षको थिएँ। अहिले मेरो पहिलो सन्तान स्नातक तह उत्तीर्णको नजिक छन्।
अब तपाईं नै भन्नुहोस्, म कक्षा ६ मा पढ्दा जो नेताहरू सत्तामा थिए, आज मेरो सन्तान स्नातक सकाउने बेलामा पनि उही नेताहरू सत्तामा छन् भने, जनतामा निराशा र आक्रोश नआओस् भने कसरी?
यो गम्भीर प्रश्नबारे ती नेताहरू र तिनका शुभेच्छुकले सोच्ने समय आएको छैन त? यदि साँच्चिकै सोचिएको र गम्भीर समीक्षा गरिएको भए न त कांग्रेस, एमाले र माओवादीमा केन्द्रदेखि टोलसम्म गुट निर्माण हुने थिए, न त नयाँ दल भनिने केही समूहहरू केवल पुराना नेताहरूलाई गाली गरेकै भरमा जनताको समर्थन पाउने अवस्था बन्थ्यो होला।
२३ भदौ २०८२ मा जेएन–जी पुस्ताले अगुवाइ गरेको आन्दोलन पनि यही — तीन दशकभन्दा बढी समयदेखि उही नेताहरूले नेतृत्व नगुजारेको — परिणाम हो। सो आन्दोलनमा धेरै पक्षहरूले आफ्ना स्वार्थका रोटी सेक्ने प्रयास गरे, जसको फलस्वरूप मुलुकले ठूलो मानवीय क्षति बेहोर्नुपर्‍यो।
अझै कति क्षति हुनेछ र आन्दोलनले कुन रूप लिन्छ भन्ने स्पष्ट भविष्यवाणी गर्न सकिने अवस्था छैन। मुलुक रुँदैछ — एउटै दिन, एउटै छिनमा कैयौँ आमा–बुबाका कोख रित्तिएका छन्।
रित्तिएको कोखको क्षतिपूर्ति कुनै पनि हालतमा पुरा हुन सक्दैन। तर यदि त्यस कोखको पीडा मेट्न सकिने हो भने, देशको नेतृत्वले अब काध फेर्न सक्नुपर्छ।
नयाँ पुस्ताले काध थाप्नुपर्छ, र उनीहरूले जेएन–जी पुस्ताले उठाएका मुद्दा — विशेषगरी राज्यका तीन तह (स्थानीय, प्रदेश, संघीय) सरकारमा पारदर्शिता, तथा नेताहरूले आफ्ना परिवार र आम जनताबीच गरिराखेको व्यवहारगत असमानताको अन्त्य — व्यवहारमै देखिने गरी काम गर्नुपर्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation