बुटवल, प्यूठान, अर्घाखाँची र सुर्खेतस्थित राष्ट्रिय जनमोर्चाका कार्यालयमा आगजनी

 

२४ भदौ २०८२, मंगलवार, काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो) का विभिन्न जिल्ला तथा प्रदेशस्तरीय कार्यालयमा एकैदिन आगजनी भएको छ। जेनजी भनिने समूहले मंगलबार दिउँसो बुटवल, प्यूठान, अर्घाखाँची र सुर्खेतस्थित कार्यालयमा तोडफोड र आगजनी गरेको हो।

बुटवल

बुटवल उपमहानगरपालिका–६ चाँदमारीस्थित लुम्बिनी प्रदेश कार्यालयमा रहेका तीन तलाका सम्पूर्ण फर्निचर, कागजात, कम्प्युटर, दराज, पुस्तकलगायतका सामग्री बाहिर निकालेर प्रदर्शनकारीहरूले आगो लगाइदिएका छन्।
“भवनका सबै सिसा र पानी पाइपसमेत फुटाइएको छ,” कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले जानकारी दिनुभयो।

प्यूठान

मल्लरानी गाउँपालिका–खलंगास्थित जिल्ला कार्यालयका सम्पूर्ण सामान प्रदर्शनकारीले माथि छतमा पुर्‍याएर आगजनी गरेका छन्।
“पानी ट्यांकीदेखि लिएर कम्प्युटरसम्म सबै जलाईएको छ,” राजमो नेता बोम बहादुर खत्रीले बताए।

अर्घाखाँची

सन्धिखर्क नगरपालिका–२ मसाल बजारस्थित जिल्ला कार्यालयमा बिहानै प्रदर्शनकारीले सिसा फोरेर तोडफोड गरेका थिए। त्यसपछि कार्यालयभित्रका फर्निचर, दराज, कागजात, कुर्सी लगायतका सामग्री बाहिर फालेर खोलामा पुर्‍याई आगजनी गरिएको प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सचिव गोपालप्रसाद भट्टराईले जानकारी दिनुभयो।

सुर्खेत

वीरेन्द्रनगर नगरपालिका–६, गोदाम लाइनस्थित जिल्ला कार्यालयमा पनि सम्पूर्ण सामान आगजनीमा ध्वस्त भएको छ।
“हाम्रो कार्यालयका कुनै सामग्री बाँकी छैनन्, सबै जलाइयो,” राजमो केन्द्रीय सदस्य रत्नविक्रम प्यासीले प्रतिक्रिया दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation