भैरहवा, २७ भदौ ।
रुपन्देहीमा पछिल्ला दिनमा विभिन्न स्थानमा उत्पन्न हुनसक्ने अस्थिरता र अफवाहबीच हाल जिल्लाको अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) डा. टोकराज पाण्डेका अनुसार रुपन्देहीमा अहिले कुनै किसिमको निषेधाज्ञा वा कफ्यु आदेश लागू गरिएको छैन। उनले जिल्लावासीलाई शान्त वातावरणमा आफ्नो दैनिक जीवन सहज रूपमा सञ्चालन गर्न आग्रह गर्दै गलत सूचनामा नफस्न समेत अनुरोध गरे।
“रुपन्देही शान्त छ, बजार र सार्वजनिक जीवन सामान्य रुपमा चलिरहेको छ। निषेधाज्ञा वा कफ्यु लगाइएको भन्ने हल्ला मात्र हो,” प्रजिअ पाण्डेले स्पष्ट पारे।
यसअघि विभिन्न सामाजिक सञ्जालमार्फत रुपन्देहीमा असामान्य अवस्था सिर्जना भएको र कफ्यु आदेश जारी गरिएको भन्ने खबरहरू फैलिएका थिए। तर जिल्ला प्रशासनले त्यस्ता सूचनाहरू निराधार भएको जनाउँदै नागरिकलाई ढुक्क भएर दैनिकीमा फर्कन आग्रह गरेको छ।











