काठमाडौँ ।
हाल भइरहेको राजनीतिक गतिविधि र सरकार गठनको बहसबीच प्रदर्शनकारी जेनजी समूहभित्रको एक धार, रेड जेनजी ले १३ बुँदे माग सार्वजनिक गरेको छ। संयोजक निश्चल रोकाद्वारा २०८२ भदौ २६ गते जारी गरिएको प्रेस वक्तव्यमार्फत सो माग सार्वजनिक गरिएको हो।
रेड जेनजीले विद्यमान संवैधानिक प्रक्रियाअन्तर्गत जेनजीसहितको संयुक्त सरकार गठन गर्नुपर्ने माग राखेको छ। वक्तव्यमा संघीयता खारेजीदेखि निजी विद्यालय बन्द गर्ने, भूमिहीनलाई जग्गा उपलब्ध गराउनेलगायतका माग समेटिएका छन्। साथै, २०४७ सालपछिका उच्चपदस्थको सम्पत्ति छानबिन गर्ने, राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षा गर्ने, विदेशी हस्तक्षेप अस्वीकार गर्ने जस्ता विषयहरूलाई पनि प्राथमिकतामा राखिएको छ।
वक्तव्यमा उठाइएका १३ बुँदा माग
१. विद्यमान संवैधानिक प्रक्रियाअन्तर्गत नै जेनजीसहितको संयुक्त सरकार गठन गर्ने।
२. नेपालको संविधान–२०७२ लाई संशोधन गरी गणतन्त्रलाई असर गर्ने विषय संशोधन गर्ने तथा संविधानमा सङ्घीयतालाई पूर्ण रूपमा खारेज गर्ने।
३. विकेन्द्रीकरणमा आधारित स्थानीय स्वायत्त शासनसहितको एकात्मक राज्यप्रणाली कायम गर्ने। हालको केन्द्र र स्थानीय तह रहने गरी प्रदेशलाई दिएको अधिकार स्थानीय तहलाई दिने।
४. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री निरङ्कुश हुने भएकाले संसद्बाट निर्वाचित प्रधानमन्त्री कार्यकारी हुने व्यवस्थालाई कायम गर्ने।
५. शिक्षामा २० प्रतिशत बजेट सुनिश्चित गर्ने, निजी स्कुल सम्पूर्ण रूपले बन्द गर्ने।
६. सार्वजनिक लगानीमा कलकारखाना खोल्ने र युवालाई रोजगारीको सृजना गर्ने।
७. २०४७ सालपछिका उच्चपदस्थको सम्पत्ति छानबिन गर्ने, कानुनले तोकेभन्दा बढी सम्पत्ति भएमा राष्ट्रियकरण गर्ने, भ्रष्टाचारीलाई कडा कानुनको व्यवस्था गर्ने।
८. लोकप्रियतावादीको नौटङ्कीलाई जनताको सामु उजागर गर्ने।
९. देशको राष्ट्रियता, भौगोलिक अखण्डता तथा स्वाधीनतालाई अक्षुण राख्ने।
१०. सीमाको सुरक्षा गर्दै भारतद्वारा अतिक्रमित भूभाग फिर्ता गर्ने।
११. राष्ट्रिय सुरक्षालाई ध्यान दिँदै नेपाल प्रहरी, सशस्त्र र स्वयम्सेवकीय जनमिलिसियाको निर्माण गर्ने।
१२. खुला सिमानालाई नियमन गर्ने, खुकुलो नागरिकता खारेज गर्ने, गैरनेपालीले प्राप्त गरेका नागरिकतामा छानबिन गरी रद्द गर्ने।
१३. भूमिहीनलाई जग्गा उपलब्ध गराउने।
आन्दोलन र भविष्यको चेतावनी
वक्तव्यमा भनिएको छ, “गत २०८२ भदौ २३ र २४ गते हामी अन्य जेनजी साथीहरूसँगै रेड जेनजी पनि सडकमा निर्मम सङ्घर्ष गऱ्यौँ। हामी यो देशको कुशासन, अनियमितता र दलका नेताहरूको भ्रष्ट तरिकाको विरुद्धमा आन्दोलित भएका थियौँ। आन्दोलनको क्रममा विदेशी शक्तिको समेत घुसपैठ भयो, जसको कारण राज्यमा ठुलो भौतिक र आर्थिक क्षति भयो।”
रेड जेनजीले हाल सरकार गठनका क्रममा भइरहेको राजावादी, प्रतिगामी तथा विदेशी (भारतीय र अमेरिकी) साम्राज्यवादको सम्पूर्ण चलखेल र हस्तक्षेपलाई अस्वीकार गर्ने घोषणा गरेको छ। वक्तव्यमा चेतावनी दिइएको छ कि, “कुनै पनि प्रकारको गन्ध आएमा विशाल सङ्घर्षमा जानेछौँ।”
यसरी, रेड जेनजीले प्रस्तुत गरेको १३ बुँदे मागले नेपालमा जारी राजनीतिक बहसलाई नयाँ मोड दिएको छ।











