२७ भदौ, काठमाडौँ ।
२४ भदौमा भएको आन्दोलनका क्रममा सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गरी हतियारलगायतका सामान चोरी गर्ने व्यक्तिहरु पक्राउ पर्न थालेका छन् ।
नेपाली सेना र सशस्त्र प्रहरीले ‘जेन–जी आन्दोलन’को नाममा सामान लुटपाट गर्ने समूहमाथि धरपकड थालेको हो । यस क्रममा सप्तरीका २३ वर्षीय जावेद अख्तर पक्राउ परेका छन् । उनी तीनकुने प्रहरी चौकीबाट लुटिएको गोली, दुईवटा म्यागेजिन र हतकडीसहित फेला परेका हुन् । अख्तर सिंहदरबारमा भएको आगजनीमा समेत संलग्न रहेको खुलेको छ ।
यस्तै, लहान नगरपालिकाका विसान शाह, सुरज यादव, प्रदीप यादव, निरज सिंह, जनकपुरका दीपक मण्डल, निरज यादव र सिरहाका सन्तोष मण्डल समेत पक्राउ परेका छन् । उनीहरूको साथबाट पनि प्रहरी चौकी र सरकारी कार्यालयबाट लुटिएका सामग्री बरामद गरिएको छ ।
पक्राउ परेकालाई सेना र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर प्रहरी चौकी तीनकुनेको जिम्मा लगाएको छ । तर, उक्त चौकीको संरचना आगलागीले पूर्ण रूपमा ध्वस्त भएकाले कैदी कहाँ राख्ने भन्ने विषय अझै टुंगो लागेको छैन ।
सुरक्षा निकायले आन्दोलनको आवरणमा हिंसात्मक गतिविधि, आगजनी र लुटपाटमा संलग्न सबैलाई क्रमिक रूपमा पक्राउ गर्ने चेतावनी दिएको छ ।











