काठमाडौँ, भदौ २८ ।
राष्ट्रिय जनमोर्चा (राजमो) ले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारद्वारा गरिएको संसद् विघटनलाई लोकतान्त्रिक व्यवस्थामाथिको ठाडो प्रहार भएको टिप्पणी गरेको छ।
शनिबार राजमो अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा जारी विज्ञप्तिमा संसद् विघटनलाई असंवैधानिक र गलत ठहर गर्दै यसको तीव्र विरोध गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको कदम संविधानविपरीत छ। संसद् विघटन गर्ने अन्तरिम सरकारको निर्णय गलत छ र यसले नेपाली जनताको लोकतान्त्रिक अधिकारमाथि आक्रमण गरेको छ।”
राजमोले जेनजी आन्दोलनका अगुवाहरूले संसद् विघटनलाई पूर्वशर्त बनाएकोप्रति असहमति जनाउँदै राष्ट्रपतिले त्यसविरुद्ध अडान लिन नसकेको उल्लेख गरेको छ।
साथै, आन्दोलनलाई आफ्नो पक्षमा पार्न राजावादी शक्तिहरूले प्रयास गरे पनि पूर्ण रूपमा असफल भएको तर संसद् विघटनले तिनका प्रतिगामी उद्देश्यलाई केही हदसम्म सहयोग गर्ने चेतावनी राजमोले दिएको छ।
राजमोले गणतन्त्रको रक्षा गर्न सम्पूर्ण लोकतान्त्रिक राजनीतिक दलहरूलाई सचेत रहन आह्वान गर्दै संसद् बाहिरबाट अन्तरिम सरकारको गठन र संसद् विघटनले प्रतिगामी शक्तिलाई फाइदा पुग्न नदिन जोड दिएको छ।











