बुटवल, भदौ २८
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ।
संघका अध्यक्ष हरि प्रसाद अर्यालद्वारा सनिश्चवार जारी विज्ञप्तिमा सुशासन, पारदर्शिता र सामाजिक न्यायको प्रत्याभूतिको अपेक्षासहित कार्कीलाई हार्दिक शुभकामना दिइएको छ। विज्ञप्तिमा भ्रष्टाचारविहीन समाज निर्माणका लागि उहाँको नेतृत्वमा अघि बढेको कदम ऐतिहासिक भएको उल्लेख छ।
संघले हाल देशमा भइरहेको आन्दोलन, अराजक गतिविधि, ध्वंसात्मक घटना, आगजनी, तोडफोड, कालोबजार, कर चोरी तथा आर्थिक गतिविधि अवरुद्ध हुने अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, “कोभिड-१९ पछि आएको आर्थिक मन्दीलाई सम्बोधन नगरी उल्टै भौतिक संरचनामाथि आक्रमण, तोडफोड तथा लुटपाटले निजी क्षेत्रको मनोबल कमजोर पारेको छ।”
संघले यसरी सिर्जना भएको नकारात्मक वातावरण अन्ततः मुलुकको समग्र अर्थतन्त्रमा नोक्सान पुग्ने भन्दै सरकारलाई निजी क्षेत्रमैत्री नीति अवलम्बन गर्न आग्रह गरेको छ।
विज्ञप्तिमा व्यवसायी तथा उद्योगीहरूले कानुनसम्मत व्यवसाय सञ्चालन गर्न सहयोग गर्नुपर्ने, सम्पत्ति संरक्षण, लगानीको वातावरण र अघिल्ला वर्षमा तिर्न बाँकी बीमाशुल्क छिट्टै भुक्तानी गर्नुपर्ने माग समेत गरिएको छ।
संघले अन्तिममा व्यवसायी तथा उद्योगीहरूलाई आफ्ना प्रतिष्ठान निर्वाध रूपमा सञ्चालन गर्न, सहज व्यवसायिक वातावरण निर्माणमा सहकार्य गर्न, संवैधानिक सर्वोच्चता र विधिको शासन कायम गर्न जोड दिएको छ।











