मुग्लिन (चितवन), १ असोज ।
नारायणगढ–मुग्लिन सडकखण्डमा बसमाथि ढुङ्गा खस्दा एक यात्रुको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ गइरहेको ग२ख १८३६ नम्बरको बस मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुल नजिक पुगेको बेला सडकमाथिबाट अचानक ढुङ्गा खसेर बसमा ठोक्किएको हो।
उक्त घटनामा लमजुङको घलेगाउँकी ४६ वर्षीय ऐश्वर्या कामी गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलमा थप ढुङ्गा खस्न सक्ने सम्भावना रहेकाले सतर्क रहन चालक र यात्रुलाई आग्रह गरेको छ।











