काठमाडौं, १ असोज ।
देशभर आज कालीगढ समुदायले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस तथा विश्वकर्मा पूजा पर्व मनाइरहेका छन्। प्रत्येक वर्ष कन्या सङ्क्रान्तिका दिन (आश्विन सङ्क्रान्ति) विशेष रुपमा यो पर्व मनाउने परम्परा रहिआएको छ।
यस अवसरमा विभिन्न कलकारखानामा भगवान् विश्वकर्माको बालुवा वा अन्य सामग्रीबाट निर्मित मूर्ति तथा तस्बिर स्थापना गरी पूजा गर्ने गरिन्छ। कलकारखानालाई विशेषरुपमा सजाइ मजदुर तथा कामदारलाई सहभागी गराएर दिवस मनाइने परम्परा छ।
पूजा सम्पन्न भएपछि निर्मित मूर्ति सुन्दरीजलको बागमती मुहान वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ। यस वर्ष पूजा गरी बिहीबारदेखि नदीमा मूर्ति विसर्जन सुरु हुने जनाइएको छ।
धार्मिक विश्वास अनुसार, आजको दिन प्रयोग हुने औजार र सामग्रीमा पूजा गरे टिकाउ हुने, बिग्रिने सम्भावना कम हुने र राम्रो काम गर्न सकिने मान्यता छ।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी कृष्णलाई सुरक्षित राखेका थिए। एकै रातमा बनेको यो अद्भुत सहरकै कारण विश्वकर्मालाई सफल वास्तुविद् मानिएको र त्यही समयदेखि पूजा गर्ने परम्परा बसेको बताइन्छ।
प्राचीन भारत वर्षका चारै दिशामा फरक तरिकाले यो पर्व मनाइने भए पनि नेपालमा यसलाई विशेष गरी औजार, कलकारखाना र मजदुर समुदायसँग जोडिएको पर्वका रूपमा मानिन्छ।











