लालकिरण पोख्रेल
म यस देशको सर्वज्ञ हुँ
मेरो वाणी कानुन हाे
पार्टी मैले जन्माएको
तिमीहरूलाई राेजगारी दिए
तिमीहरूकाे जीवनमा
उज्यालो ल्याई दिने
आज मलाई आलोचनाको
केन्द्र बनाउने ।
सयौं वर्षको वृक्षका हुँ
मेरा शाखान्तरले सबैलाई
छाँया दिएर मायामा राखेकाे छ
पातहरूले अक्सिजन दिएर
मनुष्यलाई बचाएकाे छ
जराहरू धरणीलाई संरक्षण गरेको छ
मेरो इतिहास ब्रह्माण्डमा फैलिएको छ
विश्वविद्यालयमा अध्यन हुन्छ
आहा ! आफै भन
म काे हुँ ?
राष्ट्र शाेकमा डुबेको छ
शासकहरू भूमिगत छन्
आमाको काख रित्तिएकाे छ
कुटुम्बकाे सम्बन्ध टुटेको छ
बाबुको स्तम्भ गर्ल्याम ढलेकाे छ
आकाशबाट तारा हराएको छ।
नि: शब्द
सडकमा काेलाहल छ
गगनचम्बी भवन खण्डहर बने
अभिलेखहरू बने खरानी
आँसुले भिज्याे सिरानी
इतिहास कागजमा सीमित रह्यो
हेर्दाहेर्दै सबै अग्निले खायो ।
युवा मरेका छन्
आस्था मरेको छैन
विचार मरेको छैन
नयाँ इतिहास रचेका छन्
भ्रष्टाचारीहरू लुगलुग भएका छन् ।
देशद्राेहीका मुटुमा बज्रपात भएको छ
श्वासप्रश्वास अवरुद्ध भएको छ
उच्च रक्तचाप बढेर
अस्पतालको शैयामा
सिरिन्जकाे सहयोगमा
उपचार्थ छन् ।
समय परिवर्तनशील छ
परिवर्तन प्रकृतिको नियम हाे
आफूलाई परिवर्तन गर
हाेइन भने
एकादेशमा
राणाकाे शासन थियो रे
राजाकाे शासन थियोे रे
पञ्चाय थियोे रे
बहुदल थियो रे
प्रजातन्त्र थियोे रे
लाेकतन्त्र थियो रे
गणतन्त्र थियो रे
किताबका पानामा ।
देशको हालत अस्तव्यस्त छ
बुद्धकाे उपदेश हराएका छन्
विश्व र पुष्पलालका विचारहरू
शून्यमा रूपान्तरण भएका छन्
जनता हाहाकारमा जीवन बिताउन बाध्य छन् ।
रिस खा आफू बुद्धि खा अरू
अरू देश मङ्गल ग्रहमा बस्ती
समुन्द्रमा शहर बनाउँदा
हामी आपसमा युद्व गरेका छाैं
देशलाई प्रश्चगमनमा पुर्याएका छाैं
युवायुवतीलाई विदेश पठाएर
देश रेमिट्यान्समा चलाएका छाैं ।
अरूका कुरा छाेड
म अनि मेरो परिवार
नातावाद र कृपावाद
काेसेलीपात र डलरवाद
देश र जनता केवल नारा भए
मर्ने त मरे बाच्नेका आँखा रसाए ।
चन्द्रग्रहणका पछिल्ला दुई दिन
देश रणभूमिमा बदलियाे
एकाएक आकाशमा तुवाँलो मडारियाे
इतिहासको ज्याेति गुम्याे
गाँस, बाँस र कपास हरायो
कति बिचल्लीमा परे
चराचुरुङ्गीले गीत गाउन छाेडे ।
पर्यावरण प्रदुषण भयो
वर्षाैकाे श्रम खरानी भयो
कति मानसिक बिरामी परे
देशको प्रतिष्ठा मसानघाटमा पारे
कठै! मेरो देश ।











