काठमाडौँ । नेपालभर आज विविध कार्यक्रमका साथ संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मनाइँदैछ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल समारोह आयोजना गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने तय भएको छ। तर, अहिलेको विशेष राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै यस वर्ष झाँकीलगायतका सांस्कृतिक प्रस्तुति स्थगन गरिएको छ।
नेपालको संविधान २०७२ साल असोज ३ गते तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले घोषणा गरेका थिए। लामो बलिदानीपूर्ण संघर्ष र जनआन्दोलनको उपलब्धिस्वरूप बनेको यो संविधानलाई नेपालको ऐतिहासिक उपलब्धि मानिन्छ।
संविधानसभाको दोस्रो निर्वाचनपछि गठित संविधानसभाले विभिन्न मतभेद र लामो बहसपछि ‘नेपालको संविधान २०७२’ जारी गरेको थियो। यस संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्दै नागरिकका मौलिक अधिकार सुनिश्चित गरेको छ।
संविधान दिवस २०८२ मा आयोजित कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थ व्यक्तिहरूको सहभागिता रहने छ भने मुलुकभर सरकारी तथा गैरसरकारी स्तरमा पनि दिवसको अवसरमा विविध कार्यक्रम हुँदैछन्।











