संविधान दिवस २०८२ को अवसरमा मुल प्रवाह द्वारा शुभकामना व्यक्त

 

नयाँदिल्ली । संविधान दिवस २०८२ को अवसरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, केन्द्रीय समितिले नेपाल र नेपाली जनसमुदायलाई शुभकामना दिएको छ।

समाजका अध्यक्ष प्रेम  पौडेलद्वारा जारी प्रेस वक्तव्यमा नेपालको लोकतान्त्रिक आन्दोलनको गौरवशाली इतिहासलाई स्मरण गर्दै वर्तमान संविधानको रक्षा र कार्यान्वयनमा सबै एकजुट हुनुपर्ने उल्लेख गरिएको छ।

वक्तव्यमा २०६२–६३ को महान जनआन्दोलनपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान नेपाली जनताको ऐतिहासिक उपलब्धि भएको बताइएको छ। संविधान निर्माण प्रक्रियामा प्रवासी नेपालीको समेत महत्वपूर्ण योगदान रहेको जनाउँदै, त्यसलाई कार्यान्वयनमार्फत सामाजिक न्याय, समानता र आर्थिक समृद्धिमा रूपान्तरण गर्नुपर्ने समाजको धारणा छ।

तर, पछिल्लो समय संविधानमाथि देखिएका आक्रमण, अवमूल्यन गर्ने प्रवृत्ति र दलगत स्वार्थका कारण लोकतान्त्रिक प्रणाली कमजोर बन्दै गएको भन्दै समाजले चिन्ता व्यक्त गरेको छ। वक्तव्यमा भनिएको छ, “संविधानलाई कमजोर पार्ने वा कुल्चने कुनै पनि प्रयास सफल हुन सक्दैन। यस्तो अवस्थामा संविधान, गणतन्त्र, धर्मनिरपेक्षता र संघीय व्यवस्थाको रक्षा सबै नेपालीको साझा कर्तव्य हो।”

समाजले प्रवासी नेपाली समुदायलाई पनि मातृभूमि नेपालको लोकतान्त्रिक उपलब्धि र संविधानको संरक्षणका लागि सतर्क रहन आह्वान गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation