काठमाडौं, असोज ३। संविधान दिवस २०८२ का अवसरमा अखिल नेपाल युवक संघले शुभकामना व्यक्त गर्दै संविधानको संरक्षण, सुधार र परिस्कृत गर्दै अगाडि लैजानुपर्नेमा जोड दिएको छ।
संघका अध्यक्ष गणेश अधिकारीद्वारा जारी विज्ञप्तिमा नेपालको संविधान कुनै शासकको उपहार नभई जनताको लामो संघर्ष, बलिदान र ऐतिहासिक आन्दोलनको परिणाम भएको स्मरण गरिएको छ। २०६२/६३ को जनआन्दोलनले राजतन्त्रको निरंकुश हस्तक्षेपलाई अन्त्य गरी गणतान्त्रिक युगको सुरुवात गरेको र त्यसकै जगमा २०७२ सालको संविधान जन्मिएको संघले उल्लेख गरेको छ।
तर, संविधानमाथि बारम्बार हस्तक्षेप गर्ने प्रवृत्ति अझै विद्यमान रहेको भन्दै युवक संघले यस दिवसलाई केवल उत्सवका रूपमा मात्र नभई यसको निरन्तर रक्षा र जनमुखी बनाउनका लागि संघर्षको संकल्पसहित मनाउनुपर्ने बताएको छ।
विज्ञप्तिमा भनिएको छ, “वर्तमान संविधानले केही अधिकार सुनिश्चित गरे पनि वर्गीय असमानता कायमै छ। प्राप्त जनअधिकारको रक्षा, लोकतन्त्रको संस्थागत विकास र संघीयतालाई खारेज गर्दै निरन्तर वर्गसंघर्षले मात्र देशलाई जनगणतन्त्रतर्फ अघि बढाउन सक्छ।”
युवापुस्ताले संविधानको रक्षा मात्र नभई यसको कमजोरी सच्याउँदै नयाँ सम्भावना निर्माण गर्न अग्रणी भूमिका खेल्नुपर्ने संघले आह्वान गरेको छ। संविधानलाई अस्वीकार गर्ने प्रतिगामी प्रवृत्ति र यसलाई पूर्ण भनेर आत्मसन्तुष्टि लिने दुवै धारणा गलत भएको संघको निष्कर्ष छ।
संघले युवापुस्तालाई संघीयता खारेजी, भ्रष्टाचार, रोजगारीको संकट, निरंकुशता, असमानता र वैदेशिक हस्तक्षेपविरुद्ध एकताबद्ध भई निरन्तर प्रतिरोधमा उत्रिन आह्वान गरेको छ।
विज्ञप्तिमा थप भनिएको छ, “संविधानको वास्तविक संरक्षण तब मात्र सम्भव हुन्छ जब युवाले सचेत, सबल र प्रतिबद्ध भएर वर्गसंघर्षलाई अघि बढाउँछन्। यही बाटोबाट मात्र नयाँ जनगणतान्त्रिक नेपालको निर्माण सम्भव छ।”











