टेकराज भुसाल
अर्घाखाँची । राष्ट्रिय जनमोर्चा भूमिकास्थान–२ ढाकावाङकी जेष्ठ सदस्य रेमी खनालको ८७ वर्षको उमेरमा निधन भएको छ। ढाकावाङ–भलाटारी निवासी स्व. खनाल, राष्ट्रिय जनमोर्चाका जेष्ठ सदस्य हरीलाल खनालकी धर्मपत्नी हुन्। उनी भुवानन्द खनाल, झविन्द्र (दुर्गा) खनाल, कविराम खनालकी आमा र पार्वता भुसाल, निमा वेल्बासे, तुलसा पौडेल, कौशला खनाल र गोमा बन्जाडेकी आमा पनि हुन्।
बुधबार निधन भएपछि स्व. रेमीको भूमिकास्थानस्थित स्थानीय घाटमा अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार गरिएको थियो। दाहसंस्कारपूर्व घाट परिसरमै आयोजित शोकसभामा सहभागीहरूले एक मिनेट मौनधारण गर्दै टीका र फूल चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।
त्रीवेणी साकोसका कार्यालय प्रमुख तुल्सीराम खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा भूमिकास्थान नगरप्रमुख झविलाल थापा, राष्ट्रिय जनमोर्चाका नेता सागर केसी, जिल्ला सचिव बाबुराम पन्थी, कोषाध्यक्ष गोविन्द बीसी, नेपाली कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, नेकपा एमाले जिल्ला उपाध्यक्ष शम्भु पोखरेल, नेता खुबिराम आचार्य, रास्वपा जिल्ला सभापति हरि प्रसाद भुसाल, लुम्बिनी प्रदेश मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसाललगायत विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यवसायी तथा स्थानीयबासीको उल्लेख्य उपस्थिति रहेको थियो।











