लिला बहादुर के सी
सम्वीधान संकटमा पर्नुको पृष्ठभूमि
हामी सर्वसाधारण जनताहरु आफ्नै देशमा पृथ्वी नारायण शाहको पालाको हलोको प्रविधि प्रयोग गरेर पनि खेत वारी जोती दुई छाक खाएकै थियौं। समयले ल्याएको विकासका विभिन्न आयामसंग अनुकूलित भै गिट्टि ठोकेकै थियौं। त्यतीले पुगेन भने साहु महाजन कहाँ गै रोइ धोइ गरेर ऋण काढ़ी आफ्नो सन्तानलाई अरवको खाडीमा पठाई नाना चाचाको व्यवस्था गरी हाम्रा सन्तानको अनुहार वेला वेलामा हंसिलो बनाए कै थियौं। देशका नेताहरुले व्यवस्था परिवर्तन गरे पछी सुख र समृद्धि आउंछ भनेर भन्दा पत्याएकै थियौं।त्यसको लागि हाम्रो पार्टीलाई भोट दिए पछी मात्र देश बन्छ भन्दा पत्याएरै भोट दिएका थियौं। संसदीय व्यवस्थाले जनताको समस्याको समाधान गर्न सक्दैन भनी माओवादी जनयुद्धबाट जनताको व्यवस्था आउंछ, सुख र समृद्धि हुन्छ भनी भन्दा आफ्नो छोरा छोरीलाई युद्धमा समेत पठाए कै थियौं। युद्धमा हाम्रा छोरा छोरीको साहादात हुंदा देश जनता पार्टी र क्रान्तिको लागि रगत बगाएकोमा गर्व गर्दै मुठ्ठी उठाएर अन्तिम विदाई गरेकै थियौं। आफ्नो गास काटेर भए पनि युद्धमा होमिएका पिएलए आउंदा खाना खुवाएकै थियौं। चुनाव आउंदा यीनलाई चाहिने वहुमत दिएकै थियौं। प्रजातान्त्रिक मूल्य अनुरुप विधिको शासन, आव्धिक निर्वाचन, स्वतन्त्र न्यायपालिका र मानव अधिकारको यीनीहरुले दुहाई दिंदा साथ दिएकै थियौं।तर नेपालका राजनेताहरुले जनताको यो संयमिताको सधै अवमूल्यन गरे। जनतालाई माटोको धुलोको मूल्य दिए।
१० वर्ष लगाएर संविधान सभाको निर्वाचन गरेर संविधान बन्यो। सम्विधान निर्माणका समय देखि यीनीहरुले उच्च स्तरीय तीन दलीय सिमित नेताहरुको निर्णय नेपाली जनतालाई लाद्ने अभ्यास गरे। सम्विधान सभाका अन्य सभासदहरुको कुनै मूल्य भएन, वुद्धि र विवेक विकेन। उनीहरु फगत सरकारी ढिकुटीबाट प्राप्त भएको तलव भत्ता खाने पात्रको रुपमा दर्ज भए। जुन सुकै इस्युमा पनि पार्टीको ह्विप लगाएर तथाकथित समावेसी, समानुपातिक, उत्पिडित, दलित , मधेसी र पिछडा वर्गको विवेकमा ताल्चा ठोके।
उनीहरुलाई फगत ताली पड्काउने पात्रको रुपमा प्रयोग गरे। राजदूतहरुको दलीय भागवण्डामा नियुक्ति गरे। अदालतका न्यायाधीशहरुको दलीय भागवण्डा गरे। उच्च पदस्थ कर्मचारी र प्रहरीहरुको दलीय भागवण्डा गरे। वुद्धि र विवेकले बांचेका विश्वविद्यालयका पदाधिकारीहरुलाई दलीय आधारमा भाग वण्डा गरे।सम्वैधानिक निकायका प्रमुखहरुको दलीय भागवण्डा गर्दा आफू र आफ्नो पार्टीलाई के कति फाइदा हुन्छ भनी गणितको जोड घटाऊँ गरे। ठूला पार्टीका नेताहरुले संसदीय गणितमा मात्र ध्यान दिंदा जनतालाई भुल्दै गए। उनीहरुले देश र जनताको समृद्धि भन्दा आफ्नो समृद्धि तर्फ लागे। पार्टीका अध्यक्षलाई रिझाएर, नजराना टक्राएर चुनावमा टिकट लिई जित्ने, जिते पछी चुनाव खर्च उठाउन मन्त्री बन्न मरिहत्ते गर्ने, मन्त्री बने पछी भ्रष्टाचार गर्ने र त्यहि भ्रष्टाचार गरेर कमाएको अकूत सम्पत्तिले फेरी चुनाव जित्ने ; यही प्रक्रिया वारम्वार दोहोर्याई आर्यघाट जाने वेलासम्म सत्ता, शक्ति र सरकारमा रहिरहने नीतिलाई यीनीहरुले जीवनको शुत्र बनाए।
तीन ठूला दलका नेताहरुले विचौलीयाहरुसंग मिली राज्य कै प्रमुख प्रशासनिक केन्द्र वालुवाटारको जग्गा हडपे। नारायणहिटी दरवारको जग्गा हडप्ने दुष्प्रयास गरे। सत्ता र शक्तिको आडमा बांसवारी छाला जुत्ता कम्पनीको जग्गा हडपे। नेपाल स्काउट, वाल मन्दिर र अन्य सरकारी जग्गा कानून बनाई आफ्नो कव्जामा लिए। गिरीवन्धु टि स्टेटको जग्गा क़ानून बनाई सर्वोच्च अदालतले रोक्दा रोक्दै राज्य सत्ता चलाउने प्रमले नै विचौलीयासंग मिली हिनामिना गरे।यी गतिविधिलाई नेपाली जनताले सुक्ष्म किसिमले नियालिरहेका थिए। तर निरिह जनताले एकल प्रतिवाद गर्न खोज्दा प्रतिवाद गर्नेको ज्यू ज्यान खतरामा हुन्थ्यो।
देशमा प्राकृतिक र दैवी विपत्ति पर्दा समेत सत्ताधारीहरुले जनतालाई शोषण गर्न छोडेनन्। कोरोना महामारीको वेला विदेशबाट खरिद गरेका उपचार सामाग्रीमा भ्रष्टाचार गरे। भूकम्प आउंदा जनताको भत्किएको घरको छानो ढाक्ने कर्कट पाता र राहत सामाग्रीमा समेत यीनको गिद्दे दृष्टि पर्यो।समग्रमा यीनले देश र जनता लुट्ने ठाउंमा कहिं छोडेनन्।
देशलाई समृद्ध बनाई जनतालाई सुखी बनाउने नारा फलाकी रहे। संघीयताले देशलाई कायापलट बनाउंछौं भने। अधिकार जति केन्द्रमा राखे। कथित प्रदेशलाई कार्यकर्ता पाल्ने डम्पिंग साइड बनाए। एउटा प्रदेशको मुख्य मन्त्रीले १७ जना सम्मको सचिवालय बनाए। अवकाश प्राप्त कर्मचारी र नेताहरुको सुविधा बढ़ाए। केन्द्रको सरकार ढाल्दा प्रदेशलाई समेत त्यसको शिकार बनाए।भएका उद्योग र कलकारखाना कौडीको मूल्यमा बेचेर बेरोज़गार श्रृजना गरी देशका युवाहरुलाई विदेश धपाउंदै वृद्ध र वालवच्चाहरु उपर शासन गर्न थाले। राष्ट्रिय उत्पादनमा ध्यान नदिएर देशलाई विदेशी आयातमा भर पर्नु पर्ने वाध्यात्मक स्थिति बनाए। देश वृद्धाश्रम जस्तै बन्यो।
शासकको यी जनविरोधी क्रियाकलापको घृणा जनतामा Cumulatively थपिंदै थियो। विज्ञान र प्रविधिसंग खेलिरहेको साना वालवालिकाहरुको उपल्लो पुस्ताले सामाजिक सन्जालमा व्यक्त गरेको असन्तुष्टि हेर्दै थियो। कलिला वालवालिकाको पवित्र सोझो सोंचाई र युवा पिंढिको जोशले भरिएको तातो रगत अन्तत: भाद्र २३ गते सडकमा पोखियो ।
हो अघील्लो पुस्ता वेवी वुमर्स, एक्स वा वाई जेनेरेशनले राष्ट्रिय मुक्ति आन्दोलन, देशीय सामन्तवाद र दलाल पूंजीवादको विरुद्धमा संघर्ष गरेकै हो र एउटा निस्चित दर्शनको आडमा राजनीति गर्ने र त्यसैबाट परिवर्तनको आशा गर्दै थियो। यस्तो आशा राखिरहंदा अर्को तर्फ ठूला सत्ताधारी नेताका घृणित हर्कतबाट आजित भै सकेको थियो। त्यसैको विम्व २०७९ को निर्वाचनमा देखा परी ४ महिना अंघी खोलेको घण्टी पार्टीको आशा गर्दै जनताले संसदमा चौथो पार्टी बनाई दिए।रवि लामीछानेको पार्टीलाई एक डेढ़ वर्ष हेरिरहंदा उस्ले उल्टै सर्वसाधारण जनताको सहकारीमा राखेको पैसा लुट्ने, देशको डेटा विदेशीलाई बेच्ने, द्वैध नागरिकको रुपमा रहने, स्टण्ट देखाउने, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको पक्षमा मौन रही चुइंक्क नबोल्ने, अर्काको विरोध गर्ने तर त्यही काम आफूले गर्ने आदि हर्कतहरु देखाउंदै जांदा युवा पिंढिले आफू यो देशमा बस्ने, बांच्ने र केहि गर्न सक्ने निकास देखेन ।
आखिर जनताका जनविरोधी शासकहरुलाई के पुगेको थिएन। जनताले भन्दा राम्रै लुगा लगाएका थिए। जनताले सातु, आटो पिठो साग सिन्की खांदा यीनले व्रेकफास्ट, लन्च र डिनर गरेकै थिए।जनता एक चक्की सिटामोलको अभावमा तड्पेर मरिरहंदा यीनीहरु टाउको दुख्दा सिंगापुर, वैंकक र भारतका महँगा अस्पत्तालमा राष्ट्रको ढिकुटी मासी उपचार गरेकै थिए।आव्धिक पदमा शासन गरी बसेर पनि ज़िन्दगी भर सुरक्षा अन्य भारी सुविधा लिएकै थिए। विकसित र धनी देशका राष्ट्र प्रमुखहरु सत्ताबाट वहिर्गमन भए पछी चप्पल लगाएर विना सुरक्षा र विना सुविधा बांचेको देखेकै थिए।तर यीनीहरुको मनले निहत्था जनता र राष्ट्र दोहन गरी आफूलाई मात्र होइन सात पुस्तालाई पुग्ने सम्पति देश विदेशमा थुपारेर मस्ती गर्न पट्टि लागे। जनतालाई अनेकन मिठा शव्द जालले भुलाउने हर्कत गर्न लागे।
दुई दिनको घटनाले देश रोयो ।
सायद कुनै ड्रोनले आकाशबाट तस्वीर खिचेको भए भाद्र २३ गते २ बजे देखि ७ बजेसम्म बानेश्वरमा थुप्रै अवोध वालवालिको संहार हुंदै थियो। शान्तिका अग्रदूत गौतमबुद्धको देशमा विना हातहतियार स्कूलको ड्रेसमा किताव कापीको झोला वोकी जुलुसमा गएका ती कलिला होनहार वच्चाहरु माथी भएको संहार र निर्मम दमनको दृष्य सायद कुनै पौराणिक कथा र इज़राइल प्यालेस्टाईन युद्धमा पनि थिएन कि ? घाइतेलाई अस्पताल लैजांदै गर्दा पनि शासकहरुका खुनी हातहरुले अश्रु ग्यांस ठोकी अस्पतालमा उपचार गरिरहेका डाक्टर र नर्सहरुलाई समेत भयरहित ढंगले उपचार गर्न दिएनन्। १९ जना वच्चाहरुले तत्कालै साहादात प्राप्त गरे। हजारौं घाइते अस्पतालमा पुगे।
भाद्र २३ को घटनाबाट फाइदा उठाई निहित स्वार्थ पुरा गर्न ढुक्क बसेका देशी विदेशी कुतत्वहरु जुर्मुराएर उठ्न थाले। देश र जनताको नाममा राजनीति र सुरक्षा गर्न विदेशीको जुठो पुरो खाई उनीहरुको तलुवा चाट्न बसेका कुतत्वहरुले को संग के के सहयोग मागे देश जलाउन भोलीका दिनमा समिक्षा होला तीनै ग़लत तत्वहरुको घुसपैठ जेनजी आन्दोलनमा भयो। पेट्रोल वम, गैंटी, घन, फलामे रड, नांगा तरवार र खुकुरी प्रयोग गर्दै सारा देशलाई जलाउंदा सारा देश रोयो।
राज्य नभएको त्यो दिन ।
“म बस्ने देशले ‘होइन’ भनेपछि, म जन्मेको देशले ‘होइन’ भनेपछि, मेरो आमा बाबुको देशले ‘होइन’ भनेपछि, ‘ तिमी हामीसंग सम्वन्धित होइनौ’ भनेको सधै सुनेपछी, म कोहि पनि होइन भन्ने महशुस गर्छु र मलाई म किन बांचिरहेको छु भन्ने थाहा छैन। राज्यविहिन भएकोले तिमीलाई मूल्यविहिनताको भावले सताइरहन्छ।”
माथीको यो भनाई राज्यविहिन लाराको हो। संयुक्त राष्ट्रसंघले राज्यविहिन शरणार्थीहरुको अवस्था बारे सर्वेक्षण गर्दा राज्यविहिन लाराले सर्भेयर सामु बोलेको उत्पिडित आवाज़ हो यो। देश Handle with care को अवस्थामा छ। थोरै मात्र राष्ट्रपतिले लत छोडेको भए सायद हाम्रा नेता र सारा नेपालीहरुको अवस्था लाराको जस्तै हुन के वेर ? हामीले हाम्रै देशमा भुटानी शरणार्थीको अवस्था देखेका छौं। नजीकैका स्वतन्त्र देशहरु सिक्किम र भुटान पनि देखेका छौं, अफ़ग़ानिस्तान र प्यालेस्टाइन देखेका छौं। युक्रेन देखेका छौं। हाम्रै देशको दरवार हत्याकाण्ड देखेका छौं।हामी भुटानी शरणार्थी हुन के वेर ? हामी युक्रेन, अफ़ग़ानिस्तान र प्यालेस्टाइनी हुन के वेर ? हिंजोका दिनमा हामीले हाम्रो भूराजनैतिक अवस्थाले एमसिसि स्वीकार्नु हुंदैन भन्यौ । शासकहरुले मानेनन्। इन्डो प्यासिफिक स्ट्राटेजी मान्य हुंदैन भन्यौ। यीनले हाम्रा कुरा टेरेनन्। असंलग्न राष्ट्र भएकोले कुनै साम्राज्यवादी राष्ट्रको पक्ष नलेऊ भन्यौ यीनले टेरेनन्। भारत र चीनलाई अमेरिकी साम्राज्यवादले व्यापारिक वस्तु आयातमा पेलेको बेला अमेरिकाको छायांमा रहेको देश जापानी साम्राज्यवादको इतिहास कोट्याउने कार्यक्रममा रातो कार्पेटमा हिंड्न र चिनीया सैन्य परेड हेर्न कार्यकारी प्रमुखलाई पठायौं।चीन र भारतको व्यापारिक स्वार्थको हातमिलाईलाई मुक दर्शक भएर हेर्यौं।हाम्रा देशका कार्यकारी शासकको यो गतिविधिलाई अमेरिकाले नियालेर हेरेकै थियो। पहिलेको अनमिन देखि अहिलेका वारवरा एडम्स फ़ाउन्डेशन र घण्टी पार्टीको जगमा जेन जी आन्दोलनमा घुसपैठ गर्यो र देशलाई खरानी बनायो।
भक्तपुर उपमहानगरपालिकाका प्रमुख सुनील प्रजापतिले भनेझै अदालतले कुनै अपराधीको मुद्धा हेर्दा अपराध गर्दा सबैभन्दा पहिला कस्लाई फाइदा पुगेको होला भनी त्यहि आधारविन्दुबाट मुद्धाको अनुसन्धान गर्छ भने झैं वस्तु उत्पादनले उन्मत्त भारतीय पूँजीवादीहरुले समेत २४ को आतंक मच्चाउन मद्दत गरे किनभने नेपाल खरानी हुंदा पुनर्निर्माणमा नेपालले खरिद गर्ने भारतीय वस्तु नै हो। कति भारतीय गाडी र वस्तुहरु अव नेपालमा आउलान् ? यीनीहरुको स्वार्थ एउटा यो हो भने कालापानी, लिम्पियाधुरा र लिपुलेकको ईस्यू दोश्रो हो। क्रमश :











