कपिलवस्तु । शिवराज–३ खरेन्द्रपुरस्थित श्री शिवराज कृषि सहकारी संस्था लि.को १०औं साधारण सभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा संस्थाका अध्यक्ष केयरसिंह अदैले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको हालसम्मको प्रगति र गतिविधिबारे जानकारी गराउनुभयो। उहाँका अनुसार सहकारीमा हाल १२५ महिला र ८३ पुरुष गरी कुल २०८ जना शेयर सदस्य रहेका छन्। संस्थाको शेयर पूँजी रु. ७ लाख ४४ हजार, बचत रु. ६१ लाख २३ हजार १४२ रुपैयाँ ४० पैसा र लगानी रु. ६९ लाख ५४ हजार २०० रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षमा ७७ जनाले ऋण सुविधा उपभोग गरेका छन् भने रु. ३ लाख १५ हजार ७५० बराबरको बीउबिजन र रु. ८ लाख ५९ हजार ६३० बराबरको मलखाद कारोबार भएको छ। यस अवधिमा २१५ बोरा डिएपी, ३५४ बोरा युरिया र १६ बोरा पोटास बिक्री भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
संस्थाले गत वर्ष १२ पटक नियमित बैठक, लेखा समिति १२ पटक, ऋण समिति ३ पटक र सल्लाहकार समिति ४ पटक बैठक गरेको जानकारी दिइएको छ।
सभामा बोल्दै नगर प्रमुख अजय थापाले सहकारीमार्फत कृषकलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सहकारीलाई अझ पारदर्शी र परिणाममुखी बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्ने आश्वासन पनि दिनुभयो। त्यस्तै, वडा अध्यक्ष टेकलाल सापकोटाले कृषि सहकारीमा कुनै आर्थिक हिनामिना नभएको र यसले किसानलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्नुभयो।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संस्थाले २० जना नयाँ सदस्य थप गर्ने, कृषकलाई व्यवसायीकरणतर्फ अघि बढाउने, तालिमको व्यवस्था गर्ने, बीउबिजन र मलखादको वितरणलाई व्यवस्थित गर्ने, ऋण व्यवस्थापन सुदृढ गर्ने, लेखा परीक्षण गर्ने तथा तरकारी संकलन केन्द्रलाई व्यवस्थित गर्ने योजना अघि सारेको छ।
कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख अजय थापा, वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटा, कृषि विकास शाखा प्रमुख शान्तिमाया अधिकारी, बिगुल बचत ऋण सहकारीका अध्यक्ष नरबहादुर पौडेल, मिलिजुली महिला बचत तथा ऋण सहकारीका प्रतिनिधि, सञ्चारकर्मी तथा शेयर सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन ऋण समिती संयोजक श्यामप्रसाद खनालले गर्नुभएको थियो।











