अन्तरिम सरकारमा थप ४ मन्त्री, मन्त्रिपरिषद् ८ सदस्यीय

काठमाडौं ।
अन्तरिम सरकारले थप ४ मन्त्री पाएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त अनील कुमार सिन्हा, मदन परियार, जगदीश खरेल र महावीर पुनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

यससँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् ८ सदस्यीय बनेको छ। पूर्वन्यायाधीश सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, उद्योग वाणिज्य तथा आपूर्ती र कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्। पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव भएका जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन्। कृषि विज्ञ डा. मदन परियारलाई कृषि विकास तथा पशुपंछी मन्त्रालयको जिम्मा दिइएको छ भने राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन्।

यसअघि कार्कीले ओमप्रकाश अर्याललाई गृह, रामेश्वर खनाललाई अर्थ तथा कुलमान घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन्।

नवनियुक्त मन्त्रीहरूको शपथ समारोहमा सभामुख देवराज घिमिरे पनि सहभागी भएका थिए। सोमबार शीतल निवासमा सम्पन्न शपथ समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, राष्ट्रिय सभा अध्यक्षलगायत उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation