नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा–आराधना देशभरमा गरिंदै

 

रुपन्देही , ०९ असोज २०८२

आज नवरात्रको चौथो दिन देशभरका शक्तिपीठ र मन्दिरहरूमा देवी कुष्माण्डाको पूजा–आराधना गरिँदैछ। भक्तजनहरूले बिहानैदेखि शक्तिपीठ तथा देवी मन्दिरमा पुगेका छन्।

पौराणिक मान्यताअनुसार कुष्माण्डा देवीलाई सृष्टिको आदिशक्ति र आदिस्वरूपा मानिन्छ। अन्धकार मात्र रहेको समयमा आफ्नै शक्तिबाट ब्रह्माण्डको सृष्टि गर्ने भएकै कारण देवीलाई कुष्माण्डा भनिएको हो।

अष्टभुजा स्वरूपमा चित्रित कुष्माण्डा माताको हातमा कमण्डलु, धनुष, वाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र, गदा र सिद्धि–निधि प्रदान गर्ने माला रहेका छन्। सिंहलाई यिनको वाहन मानिन्छ।

धार्मिक विश्वासअनुसार देवी कुष्माण्डाले सूर्यलाई तापशक्ति दिई प्रज्ज्वलित बनाई सौरमण्डल र ग्रहहरूको समेत रचना गरेकी थिइन्। त्यसैले यिनलाई सूर्य मण्डलमै वास गर्ने देवीका रूपमा पनि पूजा गरिन्छ।

कुभिण्डो (लौका) कुष्माण्डा देवीलाई प्रिय भएकाले आजका दिन यसकै बलि दिने परम्परा छ। साथै मालपुवा लगायतका प्रसाद चढाउने चलन छ।

पूजा विधि : बिहान स्नान गरी शुद्ध वस्त्र धारण गर्ने, देवीको मूर्ति वा चित्रसामु कलश स्थापना गरी गंगाजल, सुपारी, अक्षता राखी दियो बाल्ने, मन्त्रोच्चारण गर्ने र सप्तसती चण्डी वा देवी स्तोत्र पाठ गर्ने प्रचलन छ।

आज काठमाडौँसहित देशभरका शक्तिपीठ र नवदुर्गा मन्दिरहरूमा भक्तजनको भीड लागेको छ। भक्तिपूर्वक पूजाआजा गरेमा आयु, यश, बल, आरोग्य र बुद्धि बढ्ने धार्मिक विश्वास गरिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation