कमेरो र रातो माटोले घर लिपेको पो दशैं

बिन बहादुर रेग्मी

फूलपाती, कालरात्री, दशमीमा आफन्त–मान्यजनसँग बसेर मीठा रसिला कुरा गर्न पाएँ पो दशैं।
कोटघर मेलामा दुई चार जना भकुरा-भकुर खेलेको हेर्न पाएँ पो दशैं।
नयाँ नयाँ चप्पल–जूता, भोटी देखाउँदै गाउँ–गाउँ, घर–घर डुल्न पाएँ पो दशैं।

तर यसपालि…
समग्रमा भन्नुपर्दा कसैलाई खुशी छैन।
जेनजी आन्दोलनमा मारिएका साना–साना नानी बाबुको आत्माले अझै शान्ति पाएको छैन।
तिनका घर–परिवार मात्रै होइन, पुरै देश शोकाकुल छ। हामी प्रवासी स्तब्ध छौं।
घाइतेहरू अझै अस्पतालको बेडमा छट्पटाइरहेका छन्।
भौतिक संरचना ध्वस्त छन्। धनजनको ठूलो क्षति भएको छ।

जेनजी आन्दोलन विदेशी जासुसहरूको ‘ग्राइन्ड डिजाइन’ थियो भन्ने गाईगुँई सुन्नमा आएको छ।
तर जे होस्, यति कुरा भने पक्कै थाहा पाइयो—
सात सालदेखि यता सरकारमा पुग्ने मन्त्रीहरू स्वतन्त्र थिएनन्, विदेशीका दलाल मात्र थिए।

यसपटक मिठा कुरा गर्ने फुर्सद नै मिलेन।
काम–काम–काम… छिटो–छिटो…
हप्ता, दिन, घण्टा, मिनेट, सेकेन्ड—भन्दाभन्दै वर्ष बितेको पत्तै भएनछ।
कति चाँडै दशैं आईसकेछ!
घर जाने प्रदेशीहरूको घुइँचो देखेर बल्ल आँखा खुल्यो।

तपाईँसँग कतै तीतो, पिरो, रूखो पो बोलियो कि भन्ने खुल्दुलीले सताइरह्यो।
कहीं कतै गल्ती भयो भने क्षमा गर्नुहोला।
म यस्तै छु—तर तपाईँको लागि म सधैं सम्मान र आदर गर्ने विशाल मनको मान्छे हुँ।
वर्षभरि देखाउन सकेन होला,
तपाईँको मन जित्न सकेन होला—त्यो मेरो कमजोरी मात्र हो, अन्यथा नलिनुहोला।

धार्मिक आस्था र मान्यतामा दशैंको के महत्व छ—
त्यो मलाई थाहा छैन।
तर तपाईँलाई सम्झन पाएँ—त्यो अर्थमा म दशैंमा खुशी छु।

तपाईँ र तपाईँको परिवारमा दशैंको खुशी—
भित्र, बाहिर, माथि कौसी, बार्दली, छत, भर्याङ्ग, आँगन, बाटोसम्म छाओस्—
यही शुभकामना छ।

धन्यवाद 🙏

– रेग्मी परिवार, सुरतबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation