शंकर प्रसाद पोख्रेल
अध्यक्ष केसीले भने– “राजनीतिक संकटको समाधान जनतामुखी नीति र संविधानको संरक्षणमै छ”
रुपन्देही ।
राष्ट्रिय जनमोर्चा रुपन्देही जिल्ला समितिको आयोजनामा “वर्तमान राजनीतिक संकट र यसको समाधान” विषयक एकदिने प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा देखिएको राजनीतिक संकटलाई विगतका असमान आर्थिक नीति, दलगत अस्वस्थ प्रतिस्पर्धा र विदेशी हस्तक्षेपको परिणामको रूपमा व्याख्या गर्नुभयो। उहाँले भन्नुभयो–
“आजको संकट कुनै आकस्मिक होइन। यसको जरो असमान नीति, सत्ता मोह र बाह्य हस्तक्षेपमा छ। यसको निकास भने संविधानको रक्षा र जनताको अधिकार सुनिश्चित गर्ने नीतिमा मात्र सम्भव छ।”
अध्यक्ष केसीले दलहरूबीच विचारभन्दा स्वार्थ र पदलोलुपताले राजनीति प्रतिको जनविश्वास घटाएको उल्लेख गर्दै राजनीति जनसेवामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। उहाँले थप्नुभयो–
“राजनीति पद र सम्पत्ति कमाउने साधन होइन, यो जनताका लागि सेवा हो। अब यसलाई फेरि सही बाटोमा फर्काउनुपर्ने समय आएको छ।”
कार्यक्रममा विशेष अतिथि लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले संगठनात्मक बल र राजनीतिक चेतना अभिवृद्धि नगरी संकट समाधान असम्भव हुने धारणा राख्नुभयो। उहाँका अनुसार, “पार्टी कार्यकर्ता र जनताबीचको सम्बन्ध अझै मजबुत बनाउन जरुरी छ।”
कार्यक्रमको सञ्चालन लालबहादुर क्षेत्रीले गर्नुभएको थियो भने स्वागत हर्कबहादुर टण्डनले गर्नुभएको थियो। जिल्ला अध्यक्ष टानबहादुर केसीको अध्यक्षतामा सम्पन्न प्रशिक्षणले पार्टी कार्यकर्तामा नयाँ उत्साह थपेको जनाइएको छ।











